१६ माघ— नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस नै एमालेको मुख्य प्रतिस्पर्धी शक्ति रहेको बताएका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेको प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग नभएको स्पष्ट पारे। उनका अनुसार कांग्रेस देशको पुरानो र स्थापित पार्टी भएकाले अहिले पनि प्रत्यक्ष प्रतिस्पर्धा कांग्रेससँगै हुने देखिएको छ।
“काठमाडौंमा रास्वपा प्रतिस्पर्धामा नै छैन भन्ने विश्लेषण आइरहेको छ,” पोखरेलले भने, “रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा बढेको देखिन्छ। तर त्यो प्रभाव चुनाव जित्ने तहसम्मको होइन भन्ने हाम्रो बुझाइ छ। त्यसैले एमालेसँग मुख्य प्रतिस्पर्धा कांग्रेसकै छ।”
महासचिव पोखरेलले रास्वपाले भने समानुपातिकतर्फ मत बढाउने सम्भावना रहेको विश्लेषण पनि सुनाए। उनका अनुसार अघिल्लो निर्वाचनमा सहरी क्षेत्रबाट रास्वपाले उल्लेख्य समानुपातिक मत पाएको भए पनि यसपटक त्यो मत केही घट्न सक्ने आकलन गरिएको छ।
“अघिल्लो चुनावमा समानुपातिकतर्फ सहरी मत रास्वपालाई धेरै गएको थियो, अहिले त्यो घट्ने देखिन्छ,” उनले भने, “तर प्रत्येक जिल्लाबाट केही न केही मत ल्याउने सम्भावना छ। त्यसैले ग्रामीण क्षेत्रबाट भने रास्वपाको मत बढ्न सक्छ।”
पोखरेलको भनाइले आगामी निर्वाचनमा एमालेको मुख्य रणनीतिक ध्यान कांग्रेससँगको प्रतिस्पर्धामा केन्द्रित हुने संकेत गरेको छ भने रास्वपाको प्रभावलाई उनीहरूले समानुपातिक प्रणालीमा सीमित आँकलन गरेको देखिन्छ।
आगामी निर्वाचनमा कांग्रेस नै मुख्य प्रतिस्पर्धी शक्ति : महासचिव पोखरेल
Leave a Comment
Leave a Comment

