फागुन ५-,झापा — शिवसताक्षी नगरपालिका–१० स्थित कनकाई माई पुलमा बम जस्तो देखिने शङ्कास्पद वस्तु राखिएको भेटिएपछि पूर्व–पश्चिम राजमार्ग करिब तीन घण्टा अवरुद्ध भएको छ।
मंगलबार बिहान करिब ३ बजे पुलको बीच भागमा ‘नेपाल बन्द, होसियार’ लेखिएको कागज बमको आकृतिमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। निर्वाचन सुरक्षाका लागि खटिएको गस्ती टोलीले उक्त वस्तु देखेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिहान ३ बजेदेखि ६:३० बजेसम्म सडक आवागमन रोकिएको थियो।
पछि नेपाली सेना अन्तर्गत चारआलीस्थित अरिदल गणको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर जाँच गर्दा कागजभित्र पराल राखी बमजस्तो आकृति बनाइएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झापा ले जनाएको छ।
प्रहरीका अनुसार उक्त वस्तु निर्वाचनलाई लक्षित गरी सर्वसाधारणमा त्रास फैलाउने उद्देश्यले राखिएको प्रारम्भिक अनुमान गरिएको छ। संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

