कसैको अस्तित्व सकाएर एकता सम्भव हुँदैन : कुलमान घिसिङ

2 Min Read

पुस,१२ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नेतृत्व र दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गरेका छन् ।

उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा बौद्धमा आयोजित एक कार्यक्रममा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई देशको भविष्य बदल्ने महत्त्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे ।

मन्त्री घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने बताए । सबै नागरिक सचेत भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । “अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन,” उनले भने, “देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ । त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ ।”

उज्यालो नेपाल पार्टीले देशभर आफ्ना संगठनात्मक संरचना विस्तार गर्दै लगेको उनले उल्लेख गरे । सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको उनले बताए ।उनले भने, “एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदै छ, यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दै छ ।”

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने उनले बताए । नयाँ शक्तिले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने उनले आवश्यकता औँल्याए ।

“एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन,” उनले भने, “सबैको अस्तित्व स्वीकार गर्दै सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो ।”उनले उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताए । घरमा बत्ती बाल्नेबित्तिकै ‘उज्यालो’को अनुभूति हुने भएकाले त्यसैलाई पार्टीको सन्देशका रूपमा गाउँगाउँसम्म पु¥याउन उनले कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका विभिन्न नेता–कार्यकर्ता तथा समर्थकको उल्लेख्य उपस्थिति थियो । रासस

Share This Article
Leave a Comment