फागुन १० – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल पत्रकार महासंघ ले विराटनगरमा कोशी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालनासम्बन्धी उक्त कार्यक्रम महासंघ केन्द्रीय समितिको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्मा ले निर्वाचन नजिकिँदै जाँदा पत्रकारमाथि धम्की र आक्रमणका घटना बढ्दै गएको उल्लेख गर्दै महासंघले दैनिकजसो ध्यानाकर्षणसहित विज्ञप्ति जारी गर्नुपरेको बताउनुभयो। उहाँले पत्रकारलाई सही र सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्दै डिजिटल प्लेटफर्मको विस्तारसँगै तथ्यपरक सूचना जनतासमक्ष पुर्याउन चुनौती थपिएको धारणा राख्नुभयो।
महासंघका केन्द्रीय सदस्य कमल रिमाल ले पत्रकार स्वयंले आचारसंहिता पालना गर्नुपर्ने र सहकर्मीलाई पनि जिम्मेवार रिपोर्टिङका लागि प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो।
कोशी प्रदेश अध्यक्ष भरत खड्का ले निर्वाचनका बेला मिथ्या तथा अपुष्ट समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै सत्य र सन्तुलित समाचारले मात्रै लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउने बताउनुभयो।
पूर्व प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे ले निर्वाचन अवधिमा उत्तेजित नभई संयमित र व्यावसायिक ढंगले रिपोर्टिङ गर्नुपर्नेमा जोड दिनुभयो। आचारसंहिता पालना गर्दा पत्रकार स्वयं सुरक्षित रहने उहाँको भनाइ थियो।
महासंघले निर्वाचनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सातै प्रदेशमा सञ्चालन गर्ने जनाएको छ। कार्यक्रममा कोशी प्रदेशका तीन दर्जनभन्दा बढी पत्रकारको सहभागिता रहेको थियो। सहजीकरण अध्यक्ष निर्मला शर्मा र रविराज बरालले गर्नुभएको थियो।

