सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुने सङ्घारमा

6 Min Read
सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुने सङ्घारमा

शुक्रबार, २० भदौ २० सारांश

  • सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने अवस्थामा पुगेको छ, किनकि नयाँ पुस्ताले यसलाई सिक्न चासो देखाएका छैनन्।
  • हुडकेली नृत्य कञ्चनपुरका गङ्गाराम दमाईले आफ्नो बाजेबाट सिकेका थिए, तर हाल यसको माग घटेको छ।
  • हुडकेली सुदूरपश्चिम र भारतको कुमाउँ क्षेत्रमा प्रचलित छ, तर आधुनिकता र नयाँ पुस्ताको चासो नहुँदा यो लोप हुने खतरा बढेको छ।

कञ्चनपुर । सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ । वीरविरङ्गनाहरूको गीति कथामा गरिने नृत्य पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।

Tata
Futuressoft

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर निवासी ५० वर्षीय गङ्गाराम दमाई हुडकेली नृत्यमा निपूण भए पनि यस नृत्यको माग कतैबाट नआउँदा निकै चिन्तित छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस् 

उनले बाजेबाट हुडके (ठूलो डमरुजस्तै बाजा) बजाउने र हुडकेलीमा गीतिकथा गाउने कला सिकेका हुन् । “धार्मिक कार्य, विवाह, व्रतबन्ध, न्वारन, छैटी, अन्नप्राशनलगायत शुभ अवसरमा हुडकेली नृत्यको निकै माग हुन्थ्यो”, उनले भने, “बाजेबाटै १७ वर्षकै उमेरमा हुडकेली लगाउने कला सिकेको हुँ, मौखिक रूपमा इतिहासका पात्रहरू (वीरविरङ्गनाहरू)को कथा गीतमा ढालेर रोचक तरिकाले प्रस्तुत गरिन्थ्यो, निकै सुन्ने गर्दथे, अहिले यो नृत्य ओझेलमा परेको छ ।”

Shivam Cement

“पहिले वर्षमा धेरै ठाउँमा बोलाइन्थ्यो, अहिले वर्षमा एकपटक पनि हुडकेली नाच्न माग हुँदैन”, उनी थप भन्छन् । डडेल्धुराको अजयमेरु गाउँपालिका–२ बसना गाउँमा जन्मिएका गङ्गाराम २५ वर्षको उमेरमा तराई झरेका हुन् । उनले हुडकेली कला पनि साथमै ल्याउनुभयो तर यसैमा जीवन धान्न भने नसकिएको अनुभव सुनाए । उनका अनुसार पहिलाका दिनमा हुडकेली विशेषगरी हुनेखाने परिवारले मात्र लगाउँथे । हुडकेली प्रदर्शनबापत कलाकारलाई पाथी चामल, खसी, बोका दिने चलन थियो ।

Embark college

ताउला भादला, चरुलगायत भाँडाकुँडा दिने प्रचलन पनि थियो । त्यतिबेला हुडकेलीमै जीविका चल्थ्यो । तर, आधुनिक रहनसहन, वेशभूषा र जीवनशैलीसँगै यो परम्परा विस्तारै हराउँदै गएको छ । “पुरानो पुस्ताले हुडकेली गाए, नाचे, नयाँ पुस्ताले सिक्नै चाहेन”, गङ्गाराम भन्छन्, “अहिले सबैलाई आधुनिक साउण्ड सिस्टम, व्याण्डबाजाको मोह छ, त्यसैले हुडके बाजा पाउन पनि मुस्किल भएको छ ।”

सुदूरपश्चिमको लोककलाका जानकार गोरे दमाई भन्छन्, “लोकसंस्कृतिलाई जोगाउनुपर्छ भन्ने सबैको भनाइ हुन्छ, तर कसैले पनि हुडकेली सिक्ने, अभ्यास गर्ने चासो देखाउँदैनन्, हुडकेली लोप हुनै लाग्दा पनि चासो छैन ।”

पूर्वजनप्रतिनिधि टेकबहादुर हमालका अनुसार युद्धमा लड्ने सैनिकहरूको मनोबल उच्च राख्न वीरगाथा सुनाएर मनोरञ्जन दिने माध्यमका रूपमा यसको प्रयोग हुन्थ्यो । हुडकेली नृत्यका प्रस्तुतकर्ताले वीरगाथा, ऐतिहासिक घटना र वीरताको कथा गीतमार्फत प्रस्तुत गर्ने उनले बताए । उनी भनछन््, “यसै क्रममा नृत्यमा तलबार र ढालको करतब देखाइन्छ । गायनलाई दमाहा, हुडका र घुँघरुको तालले साथ दिइन्छ, हुडकेलीका नृत्यङ्गनाले टाउकोमा मखमलको पगडी, शरीरमा भोटो र सेतो रङको झकुलो (विशेष पहिरन) लगाउँछन् ।” 

हातमा हुडका, हुडकाको डोरीमा घुँघरु, चौँरीगाईको चमर, कम्मरमा कूलदेवताका घण्टी, चौँरीगाईको पुच्छरको सजावटसहित नृत्य गरिने चलन रहेको उन्ले बताए । “परापूर्वकालमा राजारजौटाहरू युद्धमा जितेर फर्केपछि खुसीयालीस्वरूप हुडकेली लगाउने चलन थियो, यो नृत्य डोटी र कुमाउँको इतिहाससँग जोडिएको मानिन्छ”, उनी भन्छन् ।

एक जना नाच्दै हुडका बजाउँछन् र गीतिकथा भट्याउँछन् । दुई जनाले युद्धको झल्को दिनेगरी तलबार र ढालको करतब देखाउँछन् । पाँच जनाले दमाहा बजाउँदै गीतमा साथ दिने गर्छन् । नृत्यङ्गनाको सिको गर्दै गाउनेलाई पछुवा वा ‘जोले’ भनिन्छ ।

यसरी प्रस्तुत हुने हुडकेली आफैँमा रोमाञ्चकमात्र नभई डोटेली इतिहासका पात्रहरूको सम्झना गर्ने माध्यम रहेको उनी उल्लेख गर्छन् । “पहिलाका दिनमा हुडकेली लगाउँदा गाउँभरिका मानिस एकैठाउँमा भेला भएर हेर्ने प्रचलन थियो”, टीका दमाईले भने, “दलित समुदायका हुडकेली लगाउने कलाकारलाई थितो दिने, जग्गामा बालो बर्सी (एक वर्ष अन्न कमाएर खाने अधिकार) दिने चलन हुडकेलीसँग गाँसिएको थियो, हुडकेली नै लोप हुने सङ्घारमा पुगेकाले पुराना रीतितिथिहरू पनि विस्तारै ओझेलमा पर्दै गए ।”

हुडकेली नृत्य केवल सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बाजुरा, बझाङ, अछाम, कैलाली र कञ्चनपुरमै सीमित नभएर भारतको उत्तराखण्ड प्रदेश (कुमाउँ–गढवाल)मा समेत शुभअवसरमा यसलाई प्राथमिकता दिने गरिन्थ्यो । लोकसंस्कृतिका जानकार मानसिं भण्डारी भन्छन्, “हुडकेलीमा वीरगाथा सुनाइन्छ, युद्धकौशल देखाइन्छ, वंशावलीको वर्णन हुन्छ, यसले तत्कालीन राजनीतिक, सामाजिक र सांस्कृतिक परिवेशलाई प्रतिविम्बित गर्छ ।”

उनका अनुसार हुडकेली नृत्य १८०१ सालभन्दा अगाडि नै अस्तित्वमा रहेको थियो । बाइस पाट कुमाउँ अम्मरगढीका राजा त्रिपाल चन्दको जीवनीमा आधारित गीतिकथा हुडकेलीको प्रारम्भमा सुनाइने भएकाले यो नृत्य भारतको कुमाउँ क्षेत्रबाट भित्रिएको प्रमाण मानिन्छ ।

हुडकेली सुरु गर्दा गुरु र देवताको नाम स्मरण गर्ने भएकाले यसले धार्मिक आस्था, समाजिक सद्भाव र मान्यतालाई अगाडि बढाउने कार्य गरेको उनी बताउँछन् । डोटेली इतिहासका वीरपात्र शोभी रावत, विगा पनेरु, काला भण्डारी, हिया कठायत, रती रावल, सुजुवुजु रौतेला, पिरी बोहरा, सङ्ग्राम कार्की, दीपा ऐर, लाली साउनलगायतका कथा हुडकेलीमा गाइन्छ । यो नृत्य वीरगाथा सुन्ने, मनोरञ्जन गर्ने र इतिहास सम्झाउने महत्त्वपूर्ण माध्यमका रूपमा रहेको छ ।

नृत्यलाई अझ आकर्षक बनाउन कलाकारले अनौठा कलाकौशल पनि देखाउँछन् । उदाहरणका लागि उल्टो परेर आँखाको परेलाले सियो वा पैसा उठाउने कामसमेत गरिन्छ । यो साहसीमात्र नभई कठिन कलाका रूपमा लिइन्छ ।

“हुडकेली दमाई समुदायले जगेर्ना गर्दै आएको नृत्य हो”, भीम दमाईले भने, “यो पुर्खाले सिकाएको कला परम्परा नयाँ पुस्ताले सिकेन भने केही वर्षमै हुडकेली केवल किताबका पानामा मात्र सीमित हुनेछ ।” यसैले संस्कृति संरक्षणका निकाय, स्थानीय तह र समाजसेवी संस्थाले हुडकेलीलाई पुनर्जीवित गर्न पहल नगरेसम्म सुदूरपश्चिमको यो गौरवमय लोकनृत्य इतिहासकै पानामा मात्र सीमित हुने खतरा बढ्दै गएको सुदूरपश्चिमको संस्कृतिका जानकारहरूको भनाइ  छ । 

Share This Article
Leave a Comment