- २०८२ भदौ २० शुक्रबार ०४:२३:००

बेइजिङ, १९ भदौ (रासस/एएफपी): चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाली नेता किम जोङ उनबीच बिहीबार बेइजिङमा भएको भेटवार्तामा चीनका लागि उत्तर कोरियाको स्थायी महत्वबारे आश्वस्त पार्नुभएको छ ।
दोस्रो विश्वयुद्धको अन्त्यको ८० औँ वर्ष पुगेको सम्झनामा आयोजित विशाल सैन्य परेडमा सीसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै किम आफ्नो सबैभन्दा महत्वपूर्ण सहयोगी चीन भ्रमणमा आउनुभएको छ ।
बेइजिङको ग्रेट हल अफ द पिपुलमा बिहीबार साँझ किम र सीबीच वार्ता भएको हो । वार्तामा चिनियाँ राष्ट्रपतिसीले आफ्नो देशले उत्तर कोरियासँगको ‘परम्परागत मित्रतालाई निकै महत्व दिएको’ बताउनुभएको थियो ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले बेइजिङ द्विपक्षीय सम्बन्धलाई कायम राख्न, सुदृढ गर्न र विकास गर्न इच्छुक रहेको बताउनुभएको थियो ।
“अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि यो स्थिति परिवर्तन हुने छैन,” सीलाई उद्धृत गर्दै बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
सन् १९५० को दशकमा भएको कोरियाली युद्धको रक्तपातपछि उत्तर कोरियासँग चीनको सम्बन्ध गाँसिएको थियो र बेइजिङ उत्तर कोरियाका लागि कूटनीतिक, आर्थिक र राजनीतिक समर्थनको महत्वपूर्ण स्रोत हो ।
प्योङयाङ पछिल्लो समय रुससँग नजिकिँदै गएको छ । दुई देशले गत वर्ष आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए र उत्तर कोरियाली सेना युक्रेन युद्धमा लडिरहेका छन् ।
सीले बिहीबार किमसँग भन्नुभयो, “चीन उत्तर कोरियासँग उच्चस्तरीय आदानप्रदान र रणनीतिक संवाद बढाउन इच्छुक छ। जस अन्तर्गत आपसी समझदारी र मित्रतालाई प्रगाढ बनाउने, सबै तहमा अन्तरक्रियालाई मजबुत बनाउने र विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग गर्ने प्राथमिकता चीनको रहनेछ।”
दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार किमको बख्तरबन्द रेल बैठक सकिए लगत्तै बेइजिङबाट छुटेको देखिएको थियो ।
– किमको अन्तरराष्ट्रिय यात्रा–
उत्तर कोरियाली नेता किम जोङ उनकी छोरी किम जु एईका साथ २०८२ भदाै १७ गते मङ्गलबार बेइजिङ आइपुग्नुभएको थियो ।
परेडमा उहाँको उपस्थिति पहिलो हो । परेडका समय उहाँ सी र पुटिनसँग एकै लहरमा देखिएका थिए।
निकटताका बावजुद बेइजिङ र प्योङयाङको सम्बन्ध असहज छ ।
किमलाई चीनको समर्थन उनले धेरै क्षेत्रीय अस्थिरता निम्त्याउने छैनन् भन्ने अपेक्षामा आधारित छ । यो अपेक्षा सधैं पूरा भएको भने छैन।
किमले सन् २०१८ देखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनसँग कैयौँ पटक भेटवार्ता गर्नुभएको थियो ।
तर सन् २०१९ मा हनोईमा ट्रम्पसँग भएको शिखर वार्ता असफल भएपछि उहाँ विश्व परिदृश्यबाट पछि हट्नुभएको थियो ।
किमसँग तीन पटक भेट गरेका र एक पटक आफू प्रेममा परेको समेत बताएका ट्रम्पले उहाँलाई फेरि भेट्ने आशा व्यक्त गर्नुभएको छ ।
सन् २०१९ को असफल शिखर सम्मेलनपछि प्योङयाङले आफूलाई ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्दै आएको छ र सियोलसँग सम्बन्ध सुधार गर्ने कुनै पनि सुझावलाई अस्वीकार गरेको छ ।

