पूर्व गृहमन्त्री ब्रुनो रिटेलियोले बिहीबार सडकमा ‘धेरै बलियो परिचालन’ हुने बताएका छन् । उनका अनुसार करिब ८० हजार प्रहरी र जेन्डरमेरी अफिसरहरू देशभर तैनाथ हुनेछन् ।
२ असोज, काठमाडौं । बजेट कटौतीको विरोधमा सबै प्रमुख ट्रेड युनियनहरूले आह्वान गरेको हड्ताल र सडक प्रदर्शनहरू बिहीबार फ्रान्सभरि हुने अपेक्षा गरिएको छ ।
नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले ठूलो घाटा र ऋण नियन्त्रणबारे राजनीतिक दलहरूसँग छलफल गरिरहेका बेला यो कदम आएको हो ।
युनियनहरूले लेकोर्नुलाई अघिल्लो सरकारले प्रस्ताव गरेको बजेट मस्यौदा फिर्ता लिन आग्रह गरेका छन् । उक्त योजनामा सामाजिक कल्याण स्थगन र मितव्ययिता उपायहरू समावेश छन्, जसले कम तलब र मध्यमवर्गीय कामदारहरूको क्रयशक्ति घटाउने चेतावनी उनीहरूले दिएका छन् ।
गत हप्ता जारी संयुक्त विज्ञप्तिमा युनियनहरूले यी उपायलाई ‘अभूतपूर्व क्रूरता’ भन्दै, कामदार, अस्थायी रोजगारीमा रहेका, सेवानिवृत्त र बिरामीहरूलाई मूल्य चुकाउने बनाएको आरोप लगाएका थिए ।
युनियनहरूले राष्ट्रपति इमानुएल म्याक्रोनको पेन्सन सुधारसमेत अस्वीकार गर्दै आएका छन्, जसअनुसार न्यूनतम सेवानिवृत्ति उमेर ६२ बाट ६४ मा बढाइएको छ ।
पूर्व गृहमन्त्री ब्रुनो रिटेलियोले बिहीबार सडकमा ‘धेरै बलियो परिचालन’ हुने बताएका छन् । उनका अनुसार करिब ८० हजार प्रहरी र जेन्डरमेरी अफिसरहरू देशभर तैनाथ हुनेछन् ।
उनले बिहानै अवरोध, तोडफोड र अति वामपन्थी समूहहरूको सम्भावित हिंसात्मक गतिविधिबारे चेतावनीसमेत दिए । भोलिपल्ट पनि धेरै फ्रान्सेली सहरमा प्रदर्शन हुने उनले बताए ।

