मतदाता नामावली दर्तामा युवाहरूको सक्रिय सहभागिता

1 Min Read

कार्तिक २०- फोटोसहितको मतदाता नामावली दर्ताको अन्तिम समय सीमा कात्तिक ३० गते सकिन केही दिन मात्रै बाँकी रहँदा युवा पुस्ताका मतदाताहरूले सक्रिय रूपमा मतदानका लागि नाम दर्ता गराउने क्रम बढेको छ ।

देशभित्र जो जहाँ भए पनि त्यहीँबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्थाका कारण देशैभरका निर्वाचन कार्यालयहरूमा दिनानुदिन भिड बढेको छ ।

जेनजी आन्दोलनको उपलब्धि स्वरूप बनेको नयाँ सरकारले अध्यादेशमार्फत मतदान गर्न छुटेका युवाहरूलाई नै लक्षित गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगका अनुसार १६ वर्ष उमेर पुगेकाले नाम दर्ता गर्न पाउने र १८ वर्ष उमेर पुगेकाले मतदान गर्न सक्नेछन् ।  

निर्वाचन कार्यालयमा नाम दर्ता गराउन पुगेका युवाहरू निर्वाचनमार्फत आफूले चाहेको प्रतिनिधि चुन्न उत्साहित देखिन्छन् ।

आयोगका अनुसार पछिल्लो समय नाम दर्ता गर्नेहरूको बढी भिड लागेको छ । कार्तिक १९ गतेसम्म निर्वाचन आयोगमा एक लाख २४ हजार जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् भने दैनिक ८ हजारभन्दा बढीले नाम दर्ता गराएको र त्यसमा पनि युवा पुस्ता बढी सहभागी भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउनुहुन्छ ।

आयोगको वेबसाइट वा नागरिक एपमा रहेको आयोगको लिङ्कमार्फत आफ्नो व्यक्तिगत विवरणहरू भरेपछि नजिकको निर्वाचन कार्यालयमा गएर फोटो खिचाइ बायोमेट्रिक गराउन सकिने सुविधा छ ।

Share This Article
Leave a Comment