महामन्त्रीद्वय थापा–शर्माले विशेष महाधिवेशन बोलाएपछि कांग्रेसभित्रको विवाद उत्कर्षमा

1 Min Read

 पुष १८- नेपाली कांग्रेसको १५औं महाधिवेशन अनिश्चित भएसँगै पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहमतिविनै विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाएका छन् ।

महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन भनिएको छ । कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले हिजो सूचना निकालेर औपचारिक रूपमै विशेष महाधिवेशन आह्वान गरेका हुन् ।

सूचनामा पुस २६ गतेदेखि २८ गतेसम्म गर्ने भनिएको नियमित महाधिवेशन पनि स्थगन भएको जनाइएको छ । संस्थापन पक्ष तयार नभए पनि पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्नेगरी महामन्त्रीद्वयले सूचना निकालेका छन् । महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा समग्रमा पाँच लाख ७ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको सूचनामा उल्लेख छ ।

महामन्त्रीद्वय थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर पुस २८ गतेभित्र विशेष महाधिवेशन आयोजनाको माग गरेका थिए।

Share This Article
Leave a Comment