एमालेले राष्ट्रियसभाका लागि ६ उम्मेदवार छान्यो, एक बाँकी

1 Min Read

२३ पुस- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवारको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार तय गरेको एक नेताले जानकारी दिएका छन्। उनका अनुसार रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय भएको छ। यद्यपि एमालेको तर्फबाट एक जना उम्मेदवार छनोट गर्न बाँकी रहेको बताइएको छ।
राजनीतिक दलहरूबीच भएको सहमतिअनुसार कांग्रेस र एमालेले ७–७ सिट, नेपाल कम्युनिस्ट पार्टीले ३ सिट र जसपा नेपालले १ सिट लिने सहमति भएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुँदैछ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ। आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ, जसमा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।
आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। मंगलबार दाबी–विरोधको यकिनपछि अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिएको छ। आयोगका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने, पुस २७ गते नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

Share This Article
Leave a Comment