कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा सदस्य उम्मेदवार

1 Min Read


पुस २३ गते । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले संसदीय समितिले सिफारिस गरेका उम्मेदवारलाई अनुमोदन गरेको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजै बसेको संसदीय समितिको बैठकले उम्मेदवार मनोनयन गर्ने निर्णय गरेको र त्यसलाई कार्यसम्पादन समितिले अनुमोदन गरेको हो।


बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशगत रूपमा उम्मेदवार तय गरेको छ। जसअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अपाङ्गता/अल्पसङ्ख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला) तथा गण्डकी प्रदेशबाट जगत् तिमिल्सिना (अन्य) उम्मेदवार कायम गरिएको छ।
यसैगरी, लुम्बिनी प्रदेशबाट वासुदेव जङ्गली (अपाङ्गता/अल्पसङ्ख्यक) र चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललितजङ्ग शाही (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य) लाई उम्मेदवार बनाइएको छ।


आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर र महेन्द्र यादव, केन्द्रीय सदस्यहरू विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो।

Share This Article
Leave a Comment