माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

1 Min Read

२८ पुस- सरकारले संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री जगदीश खरेलले सरकारले वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गरेको जानकारी दिए। साथै, गोरखापत्र संस्थानको अध्यक्षमा भक्तपुरका गोविन्द प्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि भएको छ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) का सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानबापत अमेरिकी डलर २ लाख ८३ हजार ५०३ प्रदान गर्न स्वीकृति दिएको छ।
सरकारले सन् २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारस्थित महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय तथा गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ।
त्यसका साथै मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।

Share This Article
Leave a Comment