प्रतिनिधिसभा निर्वाचनका लागि १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

1 Min Read

२ माघ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिर रहेका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।


निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार जिल्ला सदरमुकाममा ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ८८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आयोगका अनुसार व्यवस्था अनुसार जिल्ला अदालतका मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । यसअनुसार ७७ जना मुख्य जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत तोकिएका छन् भने न्याय सेवाका ८८ जना द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।


यसैबीच, निर्वाचन आयोगले नयाँ आएका नामसमेत समावेश गरी आजै बन्दसूचीको नामावली प्रकाशित गरेको छ । प्रकाशित सूचीमा दाबी–विरोधका लागि माघ ५ गतेदेखि माघ १० गतेसम्मको समय तोकिएको छ ।
यदि सूचीमा कसैको नाम हटाउनुपर्ने भए माघ १९ गते निर्वाचन आयोगले सूचना प्रकाशन गर्ने कार्यतालिका रहेको छ । साथै, आयोगले माघ २० गते समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने जनाएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामध्ये समानुपातिक प्रणालीतर्फ ११० जना र प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६५ जना सदस्य निर्वाचित हुनेछन् ।

Share This Article
Leave a Comment