उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

2 Min Read

माघ ९ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले शुक्रबार दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।  यस्तै आजै दिनको १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली  प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको छ । सोही दिन दिउँसो ३ बजेदेखि बिहीबार बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ ।

देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् ।

त्यसैगरी जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ ।केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाई गर्नुपर्ने केन्द्रले जनाएको छ ।

त्यसैगरी, कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भएको छ ।  रासस 

Share This Article
Leave a Comment