माघ २०,झापा– नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइसकेकाले अब अभाव नहुने जनाएको छ।
भारतको बरौनी रिफाइनरी केन्द्र मर्मतका लागि एक साता बन्द हुँदा टाढाको पारादीप रिफाइनरीबाट ग्यास ल्याउनुपरेकाले आपूर्तिमा ढिलाइ भई बजारमा सामान्य अभाव देखिएको थियो। तर आइतबारदेखि बरौनीबाटै पुनः ग्यास ढुवानी सुरु भएकाले समस्या समाधानतर्फ गएको निगमले जनाएको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार सोमबार मात्रै बरौनी रिफाइनरीबाट ५० बुलेट ग्यास नेपालतर्फ पठाइसकिएको छ। “आयात नियमित भइसकेकाले अब ग्यास अभाव हुँदैन,” उहाँले भन्नुभयो।
सामान्य अवस्थामा नेपालमा दैनिक ७० देखि ७५ बुलेट ग्यास खपत हुने गर्दछ। बरौनीबाट ग्यास नेपाल आइपुग्न करिब तीन दिन लाग्ने गर्छ। बरौनी बन्द हुँदा पारादीपबाट ल्याउनुपरेकाले एक हप्ता जति समय लाग्ने गरेको थियो।
आसन्न निर्वाचनलाई ध्यानमा राख्दै फेब्रुअरी महिनाका लागि साविकको परिमाणमा थप दुई हजार मेट्रिक टन ग्यास आयात गर्न इन्डियन आयल कर्पोरेसनका विभिन्न रिफाइनरी र बोटलिङ प्लान्टलाई पत्राचार गरिएको पनि निगमले जनाएको छ।
निगमले हाल उद्योगीहरूलाई मासिक ४९ हजार ५ सय मेट्रिक टन ग्यास उपलब्ध गराउँदै आएको छ। पछिल्ला महिनामा भने आयात केही घटेको देखिन्छ—नोभेम्बरमा ४७,२६४ मेट्रिक टन, डिसेम्बरमा ४८,५३१ मेट्रिक टन र जनवरीमा ४७,३०४ मेट्रिक टन ग्यास आयात भएको थियो।
हालसम्म नेपालमा ग्यास ढुवानी गर्दै आएका करिब ७ सय बुलेटमध्ये करिब २५ प्रतिशतले ढुवानी छाडेका छन्।
निगमले ग्यासको अभाव नहुने दोहोर्याउँदै उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ।
एलपी ग्यास आपूर्ति नियमित, अभाव नहुने निगमको दाबी
Leave a Comment
Leave a Comment

