आमाको नामबाट सर्लाहीमा पहिलोपटक नागरिकता जारी

1 Min Read

२० माघ- सर्लाही जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ। सोमबार लालबन्दी नगरपालिका–७ निवासी राम मनोहर गुप्तालाई आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकता दिइएको हो।
नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ को चौथो संशोधनअनुसार बुबा विदेशी र आमा नेपाली भएका गुप्तालाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिए।
प्रजिअ कँडरियाका अनुसार ऐन र नियमावली संशोधनपछि जिल्लामा आमाको नामबाट नागरिकता जारी गरिएको यो पहिलो घटना हो। “बुबाको अत्तोपत्तो नभएका वा विदेशी बुबा र नेपाली आमाबाट जन्मिएका सन्तानले अब आमाको नामबाट अङ्गीकृत नागरिकता पाउने बाटो खुलेको छ,” उनले भने। यसबाट जिल्लामा नागरिकताविहीन रहेका धेरै सन्तानको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

संशोधित कानुन कार्यान्वयनका लागि दुई साताअघि नै जिल्लाका २० वटै स्थानीय तहमा परिपत्र गरिसकिएको र सोही प्रक्रियाअनुसार नागरिकता जारी गरिएको पनि उनले बताए।
नागरिकता अभावकै कारण शिक्षा र सीप हुँदाहुँदै पनि रोजगारी, बैंक खाता खोल्न, सिमकार्ड लिनलगायत आधारभूत सेवा उपयोग गर्न नसकेका नागरिकलाई अब सहज हुने विश्वास प्रशासनको छ।
नागरिकता पाएपछि खुसी व्यक्त गर्दै गुप्ताले भने, “आजदेखि आधिकारिक रूपमा म नेपाली नागरिक भएको छु। नेपाली आमाबाट नेपालमै जन्मिएर पनि आफूलाई नेपाली प्रमाणित गर्नुपरेको संघर्ष निकै पीडादायी र चुनौतीपूर्ण थियो।”

तस्बिरः जिल्ला प्रशासन कार्यालय सर्लाहीको फेसबुक पेजबाट । नेपाल प्रेस  

Share This Article
Leave a Comment