दक्षिण अफ्रिकाको विजयी सुरुआत, क्यानडा ५७ रनले पराजित

1 Min Read

 माघ २७- आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले क्यानडालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। हिजो बेलुकी सम्पन्न खेलमा दक्षिण अफ्रिकाले क्यानडामाथि ५७ रनको जित निकाल्यो।
दक्षिण अफ्रिकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको क्यानडा निर्धारित २० ओभरमा १ सय ५६ रनमै अलआउट भयो। क्यानडाका नवनीत धालिवालले उत्कृष्ट ६४ रन बनाए पनि टोलीलाई जित दिलाउन भने सकेनन्।
यसअघि अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो। उसका कप्तान एडेन माक्र्रमले सर्वाधिक ५९ रनको योगदान दिए।
हिजो भएका अन्य खेलहरूमा जिम्बावेले ओमानलाई ८ विकेटले पराजित गर्दा स्कटल्यान्डले इटालीमाथि ७३ रनको फराकिलो जित दर्ता गर्‍यो।
टी–२० विश्वकपअन्तर्गत आज पनि तीन खेल हुँदैछन्। पहिलो खेलमा नामिबिया र नेदरल्याड्स दिल्लीमा नेपाली समयअनुसार बिहान सवा ११ बजे भिड्दैछन्। दोस्रो खेलमा न्युजिल्यान्ड र युएई चेन्नईमा दिउँसो सवा ३ बजे खेल्नेछन्। त्यस्तै तेस्रो खेलमा पाकिस्तान र अमेरिकाबीच बेलुका सवा ७ बजे कोलम्बोमा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ चरणमा प्रवेश गर्नेछन्। ‘सुपर–एट’ मा पुगेका आठ टोलीलाई फेरि दुई समूहमा विभाजन गरिनेछ।
त्यसपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ तारिख अर्थात् फागुन २४ गते आयोजना हुनेछ।

Share This Article
Leave a Comment