२९ माघ, दमक | नेकपा एमाले झापा क्षेत्र नं. ५ का निर्वाचन परिचालन समितिका संयोजक तथा एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले आगामी निर्वाचनमा एमालेको जित “राष्ट्रिय आवश्यकता” भएको बताउनुभएको छ।
बिहीबार दमकमा सञ्चारकर्मीहरूसँग गरिएको अन्तरक्रियामा बोल्दै दाहालले राष्ट्रियताको संरक्षण, पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि एमाले नेतृत्व आवश्यक रहेको बताउनुभयो। उहाँले एमाले जनताका सवाल र प्रश्नबाट नभाग्ने पार्टी भएको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, “मतदाताले आफ्ना कुरा उम्मेदवार र पार्टीसँग खुला रूपमा राख्न पाउनु पर्छ र चित्तबुझ्दो जवाफ पाउनु उहाँहरूको अधिकार हो। त्यसैले हामी जनताका प्रश्नबाट भाग्दैनौं। जनतासँग छलफल र भलाकुसारी गर्न हामी सधैं तयार छौं।”
दाहालले राष्ट्रियताको विषयमा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिनुभएको अडानका कारण देशभर एमाले जनताको पहिलो रोजाइ बनेको दाबी गर्नुभयो। नाकाबन्दीको समयमा निर्वाह गरिएको भूमिका तथा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरिएको विषयलाई उहाँले एमालेको राष्ट्रिय अडानको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो।
‘अहिलेको सरकार विकास विरोधी’
पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहनुभएका दाहालले वर्तमान सरकार विकास विरोधी रूपमा प्रस्तुत भएको आरोप लगाउनुभयो। उहाँले ओली नेतृत्वको सरकारको पालामा अघि बढाइएका महत्वपूर्ण योजनाहरू कटौती र रोक्का गरिएको उल्लेख गर्दै त्यसले सरकारको विकासप्रतिको नकारात्मक दृष्टिकोण देखाएको बताउनुभयो।
सुकुम्बासी समस्या सम्बन्धमा पनि उहाँले सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। धनीपुर्जा वितरणको काम भइरहेका बेला आयोग विघटन गरिएको भन्दै उहाँले सरकार भूमिहीन र सुकुम्बासीहरूको पक्षमा नदेखिएको दाबी गर्नुभयो। अदालतको आदेशपछि आयोग पुनर्स्थापित भए पनि सरकारी असहयोगका कारण काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको उहाँको भनाइ थियो।
‘भ्रम फैलाउने प्रयास’
दाहालले काठमाडौँमा सुकुम्बासी बस्तीमा डोजर चलाउनेहरूले झापामा आएर सुकुम्बासी समस्या समाधान गर्ने आश्वासन दिनु “भ्रमपूर्ण” भएको टिप्पणी गर्नुभयो। उहाँले झापाली जनताले यस्तो कुरा बुझिसकेको दाबी गर्नुभयो।
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो चरणको भेटघाट सकेर काठमाडौँ फर्किनुभएको र घोषणापत्र तयारीपछि पुनः झापा आउने कार्यक्रम रहेको निर्वाचन प्रचार उपसमितिका संयोजक तथा एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारीले जानकारी दिनुभएको छ।
एमाले जनताका प्रश्नबाट भाग्दैन : देवेन्द्र दाहाल
Leave a Comment
Leave a Comment

