फागुन ४–प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार)देखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदानको १५ दिनअघि मात्रै जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने कानुनी व्यवस्थाअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म दल र उम्मेदवारले प्रचार गर्न सक्नेछन्।
निर्वाचन आयोग ले निर्वाचनको निष्पक्षता कायम राख्न आचारसंहिताको पूर्ण पालना गर्न सबै दल तथा उम्मेदवारलाई आग्रह गरेको छ। आचारसंहिता उल्लङ्घन भएमा स्पष्टीकरण सोध्ने, सचेत गराउने, जरिवाना गर्ने र गम्भीर अवस्थामा उम्मेदवारी खारेजसम्म गर्न सकिने कानुनी व्यवस्था रहेको जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आचारसंहिता उल्लङ्घनमा ‘शून्य सहनशीलता’ नीति अवलम्बन गरिने स्पष्ट पार्नुभएको छ।
उम्मेदवारले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन गर्न पाउनेछन् भने आमसभा तथा कोणसभाको खर्च विवरण निर्वाचन कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
यस अवधिमा सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन कडाइ गरिएको आयोगले जनाएको छ।

