झापामा पत्रकारिताको शुद्धीकरण बहस, ज्येष्ठ पत्रकारलाई उपचार खर्च र वार्षिक वृत्ति वितरण

2 Min Read

चैत १६, झापा – नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा झापाको काँकरभिट्टामा पत्रकारिताको शुद्धीकरण र सदृढीकरण विषयक अन्तरक्रिया तथा ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना तथा मेचीनगर नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्काले उद्घाटन गरेका थिए। कार्यक्रम महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि खड्का, पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारी तथा प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी लगायतले पत्रकारिताको शुद्धीकरण र सुदृढीकरणमा जोड दिँदै शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा ११ बुँदे ‘झापा संकल्प–पत्र २०८२’ संशोधनसहित पारित गरिएको छ।
संकल्प–पत्रमा पत्रकार आचारसंहिताको पूर्ण पालना, पेशागत स्वच्छता, क्षमता विकास र जवाफदेहितालाई प्राथमिकता दिइएको छ।
कार्यक्रममा जिल्लाका ६५ वर्षमाथिका १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति प्रदान गरिएको थियो। महासंघले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’को ब्याजबाट ६५–७५ वर्ष उमेर समूहका पत्रकारलाई वार्षिक १५ हजार र सोभन्दा माथिका पत्रकारलाई २० हजार रुपैयाँ औषधोपचार खर्च उपलब्ध गराउँदै आएको छ।

त्यसैगरी, हर्नियाको शल्यक्रिया गराएका ज्येष्ठ पत्रकार लक्ष्मी लुइँटेललाई २५ हजार रुपैयाँ उपचार सहयोग प्रदान गरिएको थियो।
कार्यक्रमको दोस्रो चरणमा आयोजित अन्तरक्रियामा सहभागी पत्रकारहरूले आचारसंहिता कार्यान्वयन, पेशागत सुधार, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरणका विषयमा सुझाव दिएका थिए।
संकल्प–पत्र तयारी समितिको संयोजकत्व पूर्व अध्यक्ष मोहन काजीले गरेका थिए। कार्यक्रममा विभिन्न सञ्चार संस्थासँग आबद्ध पत्रकार तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

Share This Article
Leave a Comment