३० बैशाख, झापा — ‘सन्तानका लागि आमा’ कार्यक्रममार्फत आज गौरीगन्ज–२ तुलाचौनस्थित शिशु कल्याण प्राथमिक विद्यालयका आमाहरूलाई मंगलबार उत्प्रेरित गरिएको छ। गौरीगन्ज गाउँपालिकाको सहयोगमा एफएम प्लस ८९.१ मेगाहर्जले सामुदायिक विद्यालयका अभिभावक आमाहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद न्यौपाने, प्रधानाध्यापक यादव प्रसाद रिमाल, गुरुआमा दीपा खतिवडा सहित एफएम प्लस ८९.१ मेगाहर्जका प्रबन्ध निर्देशक एवं आमा उत्प्रेरणा अभियानकर्मी युवराज भट्टराईले आमाहरूलाई सन्तानको भविष्य उज्ज्वल बनाउन ध्यान दिनुपर्ने विषयहरूबारे जानकारी गराउँदै व्यवहारमा उतार्न प्रेरित गर्नुभयो।
कार्यक्रममा सहभागी आमाहरूलाई असल खानपान, असल संगत, नियमितता, अभिभावकद्वारा गरिने विद्यालय अनुगमनको महत्त्व, सामाजिक सञ्जालको सदुपयोग, मोबाइलको सही प्रयोग लगायतका विभिन्न विषयमा जानकारी गराइयो।
कार्यक्रमको अन्त्यमा एफएम प्लस ८९.१ मेगाहर्जकी स्टेशन संयोजक मञ्जु डाँगीसँग प्रतिक्रिया दिँदै आमाहरू सहितका अभिभावकहरूले कार्यक्रममा बुझेका कुराहरूको बारेमा बताउँदै सन्तानको उज्ज्वल भविष्यका लागि सिकाइएका विषयहरू व्यवहारमा समेत उतार्ने बताउनुभयो।
आमाहरूले अब सचेत भएर खानपान, आहार-विहार, पठनपाठन, बोलीचाली लगायतका कुरामा ध्यान दिँदै छोराछोरीलाई असल संस्कार सिकाउँदै सन्तानलाई असल, सफल, स्वस्थ र ज्ञानी बनाउन लागिपर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका प्रतिनिधि सहित उल्लेख्य संख्यामा आमाहरू सहितका अभिभावकहरूको उपस्थिति रहेको थियो।

