३० बैशाख, झापा — हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएपछि विद्यालय तहको वार्षिक बिदा कटौती गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शैक्षिक क्यालेन्डर तयार गरेको छ। अब वर्षे र हिउँदे बिदा साबिकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिने भएको छ।
केन्द्रले सबै विद्यालय, स्थानीय तह र सम्बन्धित निकायलाई परिपत्र गर्दै शनिबार र आइतबार बिदा कार्यान्वयन गर्न तथा पठनपाठनमा असर नपर्ने गरी बिदा समायोजन गर्न निर्देशन दिएको छ।
नयाँ व्यवस्थाअनुसार सोमबारदेखि शुक्रबारसम्म नियमित कक्षा सञ्चालन हुनेछ भने दैनिक १५ मिनेट प्रार्थना र ३० मिनेट खाजा समय छुट्याइनेछ। अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने व्यवस्था गरिएको छ।

