हप्ताको दुई दिन बिदा हुने व्यवस्था परिवर्तनको कुनै गृहकार्य छैन:मन्त्री सोभिता गौतम

1 Min Read

२८ साउन- कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पार्नुभएको छ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले यसबारे जानकारी गराउनु भएको हो ।
मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको पनि बताउनु भयो ।
बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा दुई दिन बिदा दिने निर्णय ‘असफल विधि’ भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्‍याएको भन्दै उक्त निर्णय खारेज गरी पुन: हप्ताको एक दिन मात्र बिदा दिने व्यवस्थामा फर्किन सरकारसँग माग गर्नु भएको थियो ।
जवाफमा मन्त्री गौतमले बिहान ९ बजेदेखि नै कार्यालय खुल्ने प्रावधानले सेवाग्राहीलाई सहजता भएको र कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको छ ।
विशेष गरी आन्तरिक पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याएको सरकारको दाबी छ ।
सांसदहरूले उठाएका चासोप्रति सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री गौतमले भन्नु भयो, ‘विद्यार्थीहरूको चौतर्फी विकासका लागि सामाजिक घुलमिल र खेलकुद पनि उत्तिकै आवश्यक छ । हाललाई यो व्यवस्था परिवर्तन गर्ने सम्बन्धमा कुनै गृहकार्य भएको छैन, यद्यपि प्राप्त सुझावहरूलाई सरकारले अध्ययनको विषय बनाउनेछ ।’

Share This Article
Leave a Comment