रसुवा बाढीको क्षतिपूर्ति विकसित देशले तिर्नुपर्छ : ओली

1 Min Read

भदौ १५, काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालजस्ता जोखिममा रहेका मुलुकले भोग्नुपरेको विपद्को क्षतिपूर्ति विकसित मुलुकले व्यहोर्नुपर्ने बताएका छन्।

आज एमाले राजधानी प्रदेश कमिटीले भोटेकोशी बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै ओलीले जलवायु तथा पर्वतीय विपद्मा नेपालको योगदान न्यून रहेको बताए। वातावरण विनाश र कार्बन उत्सर्जनमा बढी भूमिका रहेका विकसित देशले त्यसबाट सिर्जित क्षतिको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।

अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै ओलीले जलवायु क्षतिपूर्तिलाई दया वा करुणाको विषय नभई प्रभावित राष्ट्रको अधिकारका रूपमा स्थापित गर्नुपर्ने बताए। उनले अन्तर्राष्ट्रिय सहयोगले मात्रै ठूलो भौतिक क्षति पूर्ति गर्न नसक्ने उल्लेख गर्दै नेपालले क्षतिपूर्तिको दाबीलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए।

भोटेकोशी बाढीलाई विश्वव्यापी वातावरणीय संकटको गम्भीर संकेतका रूपमा लिनुपर्ने भन्दै ओलीले यस विषयलाई केन्द्रमा राखेर नेपालले अविलम्ब सगरमाथा संवाद आयोजना गर्नुपर्ने बताए।

यसैगरी, बाढीपछि सरकारले खोज, उद्धार र राहतमा प्रभावकारी काम गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरे। केही मन्त्री तथा सांसदहरूले समस्या समाधान गर्नुको सट्टा नागरिकलाई हप्काउने र आधारहीन निर्देशन दिने गरेको आरोपसमेत लगाए।

उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टर प्रयोगमा सरकारले रोक लगाएकोप्रति आपत्ति जनाउँदै ओलीले एमालेका कार्यकर्ता भने बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा खटिएको दाबी गरे।

Share This Article
Leave a Comment