भोटेकोशी पीडितको सहयोगार्थ गौरादहमा रक्तदान कार्यक्रम सम्पन्न

1 Min Read

भदौ १९ , गौरादह —भोटेकोशीमा आएको अकल्पनीय बाढीका कारण हुनसक्ने रक्त अभावको सम्भावनालाई मध्यनजर गर्दै गौरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

लायन्स क्लब अफ गौरादह तथा लियो क्लब गौरादहको आयोजनामा आज गौरादह बजारमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नियमित रक्तदाता, आयोजक क्लबका साथै गौरादह जेसीज, क्लब हिमालयन टाइगर लगायतका संस्थाका सदस्य तथा पदाधिकारी एवं गौरादह कृषि क्याम्पसका विद्यार्थी, नियमित रक्तदातासहित ७५ जनाले रक्तदान गरेको आयोजक लायन्स क्लब अफ गौरादहका अध्यक्ष सरिता कार्कीले जानकारी दिनुभयो।

नेपाल रेडक्रस सोसाइटी पालिका शाखा गौरादहको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र, बिर्तामोड, झापाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा नियमित रक्तदाता गणेशकुमार अधिकारीले ५६औँ पटक रक्तदान गर्नुभएको छ। कार्यक्रममा १५ जना नयाँ रक्तदाताले रक्तदान गरेको आयोजक संस्थाले जनाएको छ।

रक्तदातामध्ये सबैभन्दा कम उमेरकी १८ वर्षीया रेजिना सुवेदी तथा बढी उमेरका ५६ वर्षीय डिल्लीकुमार श्रेष्ठले रक्तदान गरेको लियो क्लब अफ गौरादहका अध्यक्ष मनिष शाहले जानकारी दिनुभयो।

सामाजिक सेवामा सक्रिय संस्था लायन्स क्लब अफ गौरादहले विगत केही वर्षयता निरन्तर रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।

Share This Article
Leave a Comment