फागुन ४- झापा– १६ औँ झापा जिल्ला पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता झापाको गौरादहमा आजबाट सुरु भएको छ।
गौरादहस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिताको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गर्नुभयो।
झापा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा गौरादह नगरपालिकाको संयोजनमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा झापा जिल्लाभित्रका १५ वटा पालिकाबाट माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताबाट छनोट भएका १८ वर्षमुनिका खेलाडीहरूको सहभागिता रहेको संयोजक पालिका गौरादह नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख विदुर आचार्यले जानकारी दिनुभयो।
प्रतियोगितामा भलिबल, कबड्डी, २०० मिटरदेखि ३ हजार मिटरसम्मका दौड, रिले दौड, हाइजम्प, लङजम्प, ज्याभलिन थ्रो, सटपुट लगायतका खेल समावेश गरिएका छन्।
उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रपति रनिङ शिल्ड खेलकुदको महाकुम्भ भएको बताउनुभयो। स्रोत सीमितताका कारण खेलकुद क्षेत्रलाई पर्याप्त सहयोग गर्न नसकिएको उल्लेख गर्दै उहाँले खेल क्षेत्रको विकासका लागि कोशी प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आगामी बजेटमा कोशी प्रदेशका १४ वटै खेलकुद विकास समितिलाई बजेट व्यवस्था गरिने उहाँको भनाइ थियो।
कार्यक्रममा आयोजक संस्थाले झापा जिल्ला महिला गोल्डकप प्रतियोगिताका आयोजकसमेत रहेका खेलकुदसेवी सन्तोष थोप्रा, अल्ट्रा धावक पुष्पा शर्मा तथा पूर्व तेक्वान्दो प्रशिक्षक हरि भुजेललाई कदरपत्रसहित सम्मान गरेको छ।
कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशी चौधरी, गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीलगायत जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन पूर्व राष्ट्रिय खेलाडी दीपेन्द्र थापाले गर्नुभएको थियो।




