फागुन २१ निर्वाचन : ५३ जिल्लाका ११७ क्षेत्रको मतपत्र छपाइ सम्पन्न

2 Min Read

माघ २८ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आजसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइसकिएको छ। हालसम्म मतपत्र छपाइ सम्पन्न भएका जिल्लामा डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रूपन्देही र रोल्पा रहेका छन्।

मङ्गलबारसम्म ४७ जिल्लाको मतपत्र छपाइ सकिएको थियो भने आज थप ६ जिल्लाको छपाइ सकिएको हो। ती जिल्लाका मतपत्र प्याकिङसमेत भइसकेको आयोगले जनाएको छ। हालसम्म १३ हजार ३२१ बाकस मतपत्र प्याकिङ गरिएको छ। दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु गरिएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छापी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ पुस २६ गतेदेखि छपाइ सुरु भई माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। ती मतपत्र प्याकिङ र रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।
प्रत्यक्षतर्फको निर्वाचनका लागि भने दुई करोड तीन लाख २३ हजार मतपत्र आवश्यक पर्ने आयोगले जनाएको छ। माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो।

Share This Article
Leave a Comment