१९ माघ- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा थप नौ जनासँग स्पष्टीकरण मागेको छ। यसअघि शनिबारसम्म २१ जनासँग स्पष्टीकरण सोधिसकेको आयोगले हिजो र आज गरी थप नौ जनालाई पत्र पठाएको हो।
आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाहसँग दोस्रोपटक स्पष्टीकरण मागेको जनाएको छ। सादा पोसाकमा रहेका प्रहरी कर्मचारीले शाहको पक्षमा भोट माग्दै गरेको भन्ने आशयको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि पुनः स्पष्टीकरण सोधिएको आयोगले स्पष्ट पारेको छ।
त्यसैगरी, शाहको चुनाव प्रचारप्रसारका क्रममा उहाँकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा पनि आयोगले जिज्ञासा राखेको छ। उक्त व्यवस्था कसरी र किन गरिएको हो भन्नेबारे स्पष्ट विवरण माग गरिएको जनाइएको छ।
यसै क्रममा आयोगले बाजुरामा रास्वपाका उम्मेदवार हेमराज थापा र सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार माधव सापकोटा लगायत अन्य उम्मेदवारसँग पनि स्पष्टीकरण सोधेको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार अहिलेसम्म सोधिएका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भइसकेको छ भने बाँकीको प्रतीक्षा भइरहेको छ। आयोगले प्राप्त जवाफका आधारमा आवश्यक निर्णय गर्ने जनाएको छ।

