आज सोनाम ल्होसार

2 Min Read

५ माघ ,झापा । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रमका साथ मनाइरहेका छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्षको सुरुआत भएको छ ।
आज सर्प वर्ष पूरा भई घोडा वर्ष प्रवेश गरेको हो । सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभएको छ । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ ।
पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने जनाएको छ । यसैगरी नेपाल तामाङ घेदुङको आयोजनामा राजधानीको टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म ल्होसार महोत्सव सुरु भएको छ । स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइने तयारी गरिएको छ ।
करिब चार हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया र सिंगापुरलगायत देशहरूमा पनि मनाइन्छ । नेपालमा तामाङ समुदायसँगै ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत सोनाम ल्होसार मनाउने गर्दछन् ।
ल्होसार महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ । साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ ।

Share This Article
Leave a Comment