आसन्न निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाइने प्रतिबद्धता : कार्यवाहक आयुक्त भण्डारी

2 Min Read

८ फाल्गुन- निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले यस कार्यमा सरोकार भएका सबै पक्षबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा विराटनगरमा आयोजित ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले बढीभन्दा बढी जनसहभागितासहित निर्वाचनलाई ऐतिहासिक र उत्सवमय बनाउन सबै क्षेत्रको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो।

उहाँले आचारसंहिता उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनी कारबाही गरिने स्पष्ट पार्दै विधि र प्रक्रियाको पालना गर्दै संयमित रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो। निर्वाचन प्रचारप्रसारमा भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न निषेध गरिएको जानकारी दिँदै त्यसतर्फ सचेत रहन राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराउनुभयो।
निर्वाचनलाई मितव्ययी रूपमा सम्पन्न गर्न आयोगले प्रयास गरिरहेको उल्लेख गर्दै तोकिएको सीमाभित्र रही खर्च व्यवस्थापन गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले आयोगको प्रतिबद्धतालाई व्यवहारमा उतार्न प्रदेश सरकार पूर्ण रूपमा सहयोगी रहने बताउनुभयो। पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र गठन गर्नुपर्ने सुझाव दिनुभयो।
प्रदेशका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले आचारसंहिता पालनामा सबै दल र उम्मेदवारबाट सकारात्मक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी चोलाराज दङ्गाल, आयोजक संस्थाका प्रशासकीय निर्देशक गणेशमान प्रधान लगायतले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि आचारसंहिता पूर्ण पालना अनिवार्य रहेकोमा जोड दिनुभयो। कार्यक्रममा सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत, कानुनविद्, मानवअधिकारकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

Share This Article
Leave a Comment