मङ्सिर २६ ।नेकपा एमालेको भोलिदेखि शुरू हुने ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी चौरमा गर्ने एमालेको तयारी छ ।
महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका कारण महाधिवेशनस्थलमा चहलपहल बढेको छ । उद्घाटनस्थलमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित काठमाण्डौ उपत्यकाका ऐतिहासिक, पुरातात्विक सम्पदा र परम्परा झल्कने गरी मञ्च तयार गरिएको छ । मञ्चको दायाँबायाँ हिमाल झल्किने आकृति निर्माण गरिएका छन्
उद्घाटनस्थलको मञ्चमा नेवारी कला, संस्कृति झल्कने दृश्य राखिएका छन् । उद्घाटनका दिन करिब तीन लाख व्यक्ति बस्न मिल्ने व्यवस्था गर्न लागिएको एमालेले जनाएको छ ।
यसैबीच एमाले सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल हुने एमालेले जनाएको छ ।

