जेठ १३,झापा – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनसम्बन्धी कामलाई तीव्रता दिइएको बोर्डले जनाएको छ ।
बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार हालसम्म उत्तरपुस्तिका परीक्षणको आधाभन्दा बढी काम सम्पन्न भइसकेको छ । परीक्षण सकिएका उत्तरपुस्तिकाको सम्परीक्षण तथा प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने कामसमेत सँगसँगै भइरहेको उनले जानकारी दिए ।
नतिजा प्रकाशनलाई छिटो बनाउन परीक्षा सकिएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गरिएको बोर्डले जनाएको छ । देशभरका ४२ केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ ।
“नतिजा प्रकाशनको काम ४५ दिनभन्दा पर जाँदैन, सकेसम्म अझ छिटो सार्वजनिक गर्ने गरी काम गरिरहेका छौँ,” परीक्षा नियन्त्रक शर्माले भने ।
यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट ४ लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए । बोर्डले यसअघि माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा पनि परीक्षा सकिएको २९ दिनमै सार्वजनिक गरेको थियो, जुन एसइई इतिहासकै सबैभन्दा छोटो समय मानिएको छ ।
यसअघि एसइई तथा कक्षा १२ को नतिजा सार्वजनिक हुन सामान्यतया तीन महिना लाग्ने गरेको थियो ।

