काठमाडौँमा मगर समुदायले भव्यताका साथ मनाए माघे सकराती

2 Min Read

माघ १ – उपत्यकामा बसोवास गर्ने मगर समुदायले परम्परागत चाड माघे सकराती भव्यताका साथ मनाएका छन्। नेपाल मगर संघको आयोजनामा टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम गरी माघे सकराती मनाइएको हो।
जनसङ्ख्याका हिसाबले नेपालको तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायमध्ये पहिलो स्थानमा रहेको मगर जाति भाषा, भेषभूषा, कला, संस्कृति र चाडपर्वको विविधताले सम्पन्न समुदाय हो। नेपालको प्रायः सबै जिल्लामा बसोवास गर्दै आएका मगर समुदायले आफ्ना मौलिक चाडपर्वहरूलाई विशेष महत्वका साथ मनाउँदै आएका छन्।
माघे सकराती मगर र थारू समुदायको परम्परागत चाड भए पनि माघे सङ्क्रान्ति सम्पूर्ण नेपालीले राष्ट्रव्यापी रूपमा मनाउने पर्व हो। मगर समुदायले यस पर्वलाई ‘माघे सकराती’का नामले मनाउने गर्दछन्। यो पर्व विशेषतः मगर समुदायमा चेलिबेटीको चाडका रूपमा परिचित छ।


सकरातीको अवसरमा मगर जातिका कुलदेवता वराहथानको पूजाआजा गरिन्छ। परापूर्वकालदेखि निरन्तर रूपमा मनाउँदै आएको यो पर्व मगर समुदायमा एक हप्ता लामो रूपमा मनाइन्छ। सकरातीको मुख्य दिनभन्दा एक हप्ता अघिदेखि नै टाढाटाढाका पवित्र स्थलमा पुगेर पूजा तथा तयारी गर्ने चलन रहेको छ।
माघे सकरातीको दिन बिहान दाजुभाइले स्नान गरी खाली पेटमा कुल–कुलायन र पुर्खाको पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दानदक्षिणा तथा उपहार दिने परम्परा छ। तरुल, फलफूल, सेलरोटी, तरकारीलगायतका परिकार मिलाएर तयार पारिएको उपहारलाई मगर समुदायमा ‘मिश्रा’ वा ‘निस्रो’ भनिन्छ।
माघे सकरातीले मगर समुदायको सांस्कृतिक पहिचान, आपसी सद्भाव र पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

Share This Article
Leave a Comment