१० भदौ- कोशी प्रदेशका १४ वटै जिल्लामा कार्यरत १ हजार २२७ जना पत्रकारको एक वर्षको दुर्घटना बीमा सुरु भएको छ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको पहलमा प्रदेश सरकारको आर्थिक सहयोग तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत पत्रकारको दुर्घटना बीमा गरिएको हो।
विराटनगरमा हिजो ( मंगलबार) आयोजित कार्यक्रममा बीमा कार्यक्रमको शुभारम्भ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता सत्य र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिँदै जोखिमपूर्ण पत्रकारिता पेसामा बीमाले पत्रकारको सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने बताए।

उनले दुर्घटनामा परेका बीमितलाई बीमा रकम भुक्तानी गर्ने प्रक्रिया सहज र प्रभावकारी बनाउन राष्ट्रिय बीमा कम्पनीलाई आग्रह गरे।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारको सुरक्षा र हितका लागि बीमा कार्यक्रम महत्वपूर्ण रहेको बताए। प्रदेश सरकारले एक वर्षको बीमा खर्च बेहोरेको जानकारी दिँदै उनले कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाए।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत गरिएको बीमाले पत्रकारिता गर्ने क्रममा हुन सक्ने दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका पदाधिकारी, पत्रकार तथा राष्ट्रिय बीमा कम्पनीका अधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक निरञ्जन आचार्यले दुर्घटना बीमाको महत्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

