त्रिविको दीक्षान्त अब सातै प्रदेशमा, विद्यार्थीले आफैं केन्द्र रोज्न पाउने

2 Min Read

असोज , १३ — त्रिभुवन विश्वविद्यालयले पहिलोपटक प्रदेशगत रूपमा दीक्षान्त समारोह आयोजना गरी विद्यार्थी दीक्षित गर्ने भएको छ।

त्रिवि कार्यकारी परिषद्ले सातवटै प्रदेशमा विद्यार्थी दीक्षित गर्ने निर्णय गरेसँगै परीक्षा नियन्त्रण कार्यालयले प्रक्रिया अघि बढाएको छ। कार्यालयले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीसँग अनलाइन आवेदन माग गरेको छ।

त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले प्रदेशस्तरमा दीक्षान्त कार्यक्रम गर्ने निर्णय कार्यकारी परिषद्बाट भएको र सोहीअनुसार विद्यार्थीबाट आवेदन माग गरिएको जनाए। विद्यार्थीले आवेदन दिँदा जुन प्रदेशको केन्द्र रोज्छन्, त्यहीँ आयोजना हुने दीक्षान्त कार्यक्रममा सहभागी हुन पाउनेछन्।

कोशी,बागमती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश गरी सातै प्रदेशमा दीक्षान्त केन्द्र तय गरिएको छ। एमफिल, विद्यावारिधि (पीएचडी) तथा सर्वोत्कृष्ट (गोल्ड मेडलिस्ट) नतिजा प्राप्त गर्ने विद्यार्थीका लागि भने बागमती प्रदेश केन्द्र तोकिएको छ। अन्य विद्यार्थीले आफूलाई पायक पर्ने प्रदेशको दीक्षान्त समारोहमा सहभागी हुने गरी केन्द्र छनोट गर्न सक्ने व्यवस्था गरिएको हो।

गत वर्षसम्म देशभरका विद्यार्थीले काठमाडौंमा हुने दीक्षान्त समारोहमा सहभागी हुनुपर्ने बाध्यता थियो। त्रिविबाट प्रत्येक वर्ष करिब ८० हजार विद्यार्थीले स्नातकदेखि विद्यावारिधिसम्मको तह पूरा गर्ने गरेका छन्। तीमध्ये करिब २० हजार विद्यार्थी दीक्षान्त कार्यक्रममा सहभागी हुँदै आएका छन्।पुस मसान्तसम्म दीक्षान्त कार्यक्रम गरिसक्नुपर्ने व्यवस्था छ। तर, त्रिवि सभाले पूर्णता नपाएकाले यस वर्ष दीक्षित हुने विद्यार्थीको ग्रेस लिस्ट पारित हुन सकेको छैन। गत वैशाखमा उपकुलपतिसहित सभाका सदस्यलाई पनि सरकारले अध्यादेशमार्फत पदमुक्त गरेको थियो। उपकुलपति, रेक्टर र रजिस्ट्रार नियुक्त भए पनि सभाका सदस्य मनोनित नहुँदा असोजको पहिलो सातासम्म त्रिविको चालु आर्थिक वर्षको बजेटसमेत पास हुन सकेको छैन। दीक्षित हुने विद्यार्थीको विवरण पनि सभाबाट पारित हुन रोकिएको छ।

ग्रेस लिस्ट पारित नहुँदा परीक्षा नियन्त्रण कार्यालयले ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीका लागि अनलाइन आवेदन फाराम खुला गरेको छ। अघिल्ला वर्षमा ग्रेस लिस्टमा समावेश विद्यार्थीबाट आवेदन माग गर्ने अभ्यास थियो। आगामी कात्तिक १२ गतेसम्म आवेदन दिन सकिने परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बताए।

प्रदेशगत रूपमा दीक्षान्त समारोह गर्दा खर्चिलो र झन्झटिलो हुने ठानिएको छ। दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपतिसहित ५२ जना सभा सदस्यको उपस्थितिमा विद्यार्थी दीक्षित हुने गरेका छन्।

Share This Article
Leave a Comment