१९ माघ- प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता पालनालाई केन्द्रमा राख्दै मिडिया जागरण अभियान धादिङबाट सुरु गरेको छ। निर्वाचन अवधिमा राजनीतिक दल र सञ्चारमाध्यमबाट हुन सक्ने आचारसंहिता उल्लङ्घनका घटना न्यूनिकरण गर्ने उद्देश्यले अभियान थालिएको हो।
सोही अवसरमा नेपाल पत्रकार महासङ्घले पनि जिम्मेवार पत्रकारिता, निष्पक्ष निर्वाचन रिपोर्टिङ र सामाजिक सञ्जालको सजग प्रयोगबारे राष्ट्रिय अभियान सुरु गरेको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले सञ्चारमाध्यमले निष्पक्षता, सन्तुलन र सत्यतामा आधारित भएर आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो।
महासङ्घका अध्यक्ष निर्मला शर्माले स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न पत्रकार आचारसंहिताको कडाइका साथ पालना आवश्यक रहेको बताउनुभयो। उहाँले सञ्चारकर्मीले कसैको पक्ष–विपक्षमा नलागी नागरिकलाई सचेत गराउने भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा सूचना विभागका महानिर्देशक छविन्द्र पराजुली, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी तथा प्रेस काउन्सिलका पदाधिकारीहरूले निर्वाचनका बेला मिडियाले ध्यान दिनुपर्ने विषयमा धारणा राखेका थिए।
यसैबीच, नेपाल पत्रकार महासङ्घ धादिङले विभिन्न विधामा चार पत्रकारलाई सम्मान गरेको छ। राजेन्द्रप्रताप शाह स्मृति पत्रकारिता पुरस्कारबाट केशव अधिकारी (रु १५ हजारसहित), स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पोषणाथ अधिकारी, विकास पत्रकारिता पुरस्कारबाट राजन अधिकारी र शालिकराम वर्मा स्मृति पुरस्कारबाट रामबहादुर ठकुरी पुरस्कृत भएका छन्।

