नेपाल–भारतबीच जैविक विविधता संरक्षणमा समझदारीपत्र हस्ताक्षर

1 Min Read

१४ फाल्गुन- नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। दिल्लीमा आयोजित कार्यक्रममा नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईं र भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।

नेपाल–भारत सीमाक्षेत्रमा संरक्षित क्षेत्र तथा जैविक मार्ग (बायोलोजिकल करिडोर) रहेकाले हात्ती, गैंडा र बाघलगायत वन्यजन्तुहरू निर्वाध रूपमा सीमा वारपार गर्ने गर्छन्। यही अवस्थालाई ध्यानमा राख्दै दुवै देशले संरक्षित क्षेत्र व्यवस्थापन, जैविक विविधता संरक्षण र वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणमा समन्वय र सहकार्य बढाउने सहमति गरेका छन्।
समझदारीपत्रले जैविक विविधतासम्बन्धी साझा रणनीति अवलम्बन गर्ने, सीमाक्षेत्रमा हुने चोरी शिकार तथा अवैध वन्यजन्तु व्यापार नियन्त्रण र नियमन गर्ने, अध्ययन–अनुसन्धान तथा अनुगमनलाई सुदृढ बनाउने र क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्ने अपेक्षा गरिएको छ।

वनमन्त्री चौलागाईंका अनुसार स्थानीय तहसम्म जनचेतना अभिवृद्धि र संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न पनि यस समझदारीपत्रले सहयोग पुर्‍याउनेछ।

Share This Article
Leave a Comment