फागुन २१ का लागि निर्वाचन तयारी तीव्र: ११ जिल्लाका प्रत्यक्षतर्फका मतपत्र छपाइ सम्पन्न

1 Min Read

माघ १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका मतपत्र छपाइ कार्य तीव्र गतिमा अघि बढिरहेको छ। हालसम्म ११ जिल्लाका मतपत्र छपाइ सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम र डोटी तथा कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा र रुकुमपश्चिम जिल्लाका लागि मतपत्र छपाइ सकिएको छ। ती मतपत्रहरू ढुवानी प्रक्रियामा लैजाने तयारीसमेत भइसकेको उहाँले जानकारी दिनुभयो।

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीअन्तर्गत हालसम्म २५ जिल्लाका लागि करिब ३० लाख मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ। तीमध्ये १६ लाख २१ हजार मतपत्र प्याकिङसमेत सम्पन्न भइसकेको छ।
यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ। प्रत्यक्षतर्फका बाँकी मतपत्र पनि छपाइ सकेर फागुनको दोस्रो सातासम्म सम्बन्धित जिल्ला र निर्वाचन क्षेत्रमा पठाइसक्ने आयोगको तयारी रहेको प्रवक्ता भट्टराईले बताउनुभयो।
निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारीलाई तीव्र बनाएको जनाएको छ।

Share This Article
Leave a Comment