१५ जेठ 0८३,झापा- गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले संविधानले बालबालिकाको अधिकार सुनिश्चित गरेको भन्दै त्यसको कार्यान्वयनका लागि सबैको जिम्मेवारी रहेको बताउनुभएको छ । एफएम प्लस ८९.१ मेगाहर्जको सभाकक्षमा सम्पन्न “बालमैत्री गौरादह नगरपालिका तयारी, चुनौती र आवश्यकता” विषयक रेडियो अन्तरक्रिया कार्यक्रममा सहभागीहरूको जिज्ञासाको समाधान गर्दै नगर प्रमुख सुवेदीले बाल अधिकारको जिम्मेवारी घरपरिवार, विद्यालय, वडा, नगर तथा छरछिमेकी सबैको भएको बताउनुभयो ।
गौरादह नगरपालिकालाई बालमैत्री नगर बनाउन अभियान जारी रहेको भन्दै नगर प्रमुख सुवेदीले कम्तीमा पनि ९० प्रतिशत सूचक पूरा गरेपछि मात्र बालमैत्री नगर घोषणा गरिने स्पष्ट पार्नुभयो ।
तयारी पूरा गर्दै बालमैत्री वडा घोषणाको अन्तिम चरणमा रहेको गौरादह नगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिलीप भण्डारीले सहजकर्तालाई राम्ररी बुझाएर परिचालन गर्दा परिणाम निकाल्न सहज भएको बताउनुभयो । विद्यालयमा बालमैत्री वातावरण बन्दै गए पनि समुदाय स्तरमा अझै बाल अधिकारको विषय बुझाउन चुनौती रहेको उहाँले उल्लेख गर्नुभयो । गौरादह–३ लाई जेठ २१ गते बालमैत्री वडा घोषणा गर्ने तयारी भइरहेको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा गौरादह नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विदुर आचार्यले शाखामार्फत शैक्षिक संस्थाहरूलाई बालमैत्री बनाउन आवश्यक विषयमा समन्वय भइरहेको जानकारी गराउनुभएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कविता तुम्बापोले बालमैत्री वडा निर्माणमा समग्र रूपमा भइरहेका कामहरूको जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा विद्यालयलाई बालमैत्री बनाउन गरिएका कार्यहरूको बारेमा जानकारी गराउँदै अमर माध्यमिक विद्यालय गौरादह–२ का प्रधानाध्यापक श्यामप्रसाद वस्तीले संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि १९८९ तथा बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप २०६७ मा उल्लेखित अवधारणालाई व्यवहारमा उतार्न केही समस्या भए पनि सूचक कार्यान्वयनमा ध्यान दिइएको बताउनुभयो । प्रधानाध्यापक वस्तीले विद्यार्थीहरूले कुनै कमजोरी गरे दण्ड सजायभन्दा पनि परामर्शमार्फत न्यूनीकरण गर्ने विधि प्रभावकारी भएको अनुभव समेत सुनाउनुभयो ।
कार्यक्रममा सहजकर्ता कोपिला लुइँटेलले बालमैत्री वडामा भइरहेका कार्यहरूको विषयमा जानकारी गराउनुभएको थियो भने गोल्डेन सनराइज माध्यमिक विद्यालयको बाल क्लब अध्यक्ष आरोही ढकाल तथा स्कुलचौन माध्यमिक विद्यालयकी छात्रा आनजुम तुम्बापोले बालमैत्री वातावरणका लागि बाल क्लबमार्फत तथा विद्यालयका तर्फबाट भएका कामहरूको जानकारी गराउँदै आफ्ना धारणा राख्नुभएको थियो ।
गौरादह नगरपालिकाको सहयोग र एफएम प्लस ८९.१ मेगाहर्ज गौरादह, झापाको आयोजनामा सम्पन्न कार्यक्रममा बालमैत्री सहजकर्ताहरू निरबहादुर भुजेल, गौरव सापकोटा, स्कुलचौन माध्यमिक विद्यालयबाट छात्रा दीक्षा सुवेदी, प्रगति माध्यमिक विद्यालयबाट सभ्यता दाहाल तथा युनिसा पौडेल, मोती माध्यमिक विद्यालयबाट सरु थपलिया तथा संरचना बर्देवा, जनता माध्यमिक विद्यालय गौरादह–१ बाट सुरक्षा खत्री, एस.आई.आर. मेमोरियल एकेडेमी गौरादह–४ बाट स्वरुपराज पराजुली, मन्दिपा कटुवाल तथा शिक्षक रामप्रसाद पराजुलीको सहभागिता रहेको थियो ।
एफएम प्लस ८९.१ मेगाहर्जका प्रबन्ध निर्देशक युवराज भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रमको व्यवस्थापन स्टेशन संयोजक मञ्जु डाँगी तथा प्राविधिक संयोजनमा रमिशा कुँवरले सहयोग गर्नुभएको थियो ।

