भाषा संस्कृति संरक्षणमा समुदाय र स्थानीय सरकार विषयक रेडियो अन्तरक्रिया कार्यक्रम सम्पन्न

2 Min Read

११ जेठ,२०८३-झापा / गौरादह नगरपालिकाको सहयोग तथा एफएम प्लस ८९.१ मेगाहर्ज, गौरादह–झापाको आयोजनामा “भाषा संस्कृति संरक्षणमा समुदाय र स्थानीय सरकार” विषयक रेडियो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एफएमको साक्षात्कार कक्षमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी, राजवंशी अगुवा कामेश्वर राजवंशी, नेवार समुदायका अगुवा तारा कुमार श्रेष्ठ, ताजपुरिया अगुवा भगेन्द्र ताजपुरिया, संस्कृति संरक्षणकर्मी रविलाल ताजपुरिया, सन्थाल अगुवा सुमी हेमरम तथा सम्पतलाल ताजपुरियालगायतको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले भाषा तथा संस्कृतिको संरक्षणमा नगरपालिकाले निरन्तर सहयोग गरिरहेको बताउँदै समुदाय एकजुट भएर प्रस्तावसहित आए साझेदारीमा थुप्रै कार्य गर्न सकिने उल्लेख गर्नुभयो । भाषा संस्कृतिको संरक्षणमा समुदाय सक्रिय भए स्थानीय सरकारलाई पनि योजना तथा कार्यक्रम समेट्न सहज हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा राजवंशी अगुवा कामेश्वर राजवंशी, नेवार समुदायका अगुवा तारा कुमार श्रेष्ठ, संस्कृति संरक्षणकर्मी रविलाल ताजपुरिया, सन्थाल अगुवा सुमी हेमरम तथा ताजपुरिया अगुवा भगेन्द्र ताजपुरियालगायतले संस्कृति संरक्षणमा नगरपालिकाले गरेका कामको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय भाषामा प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्ने, भाषा संरक्षणका लागि कार्यक्रम निर्माण तथा प्रसारणमा सहयोग गर्नुपर्ने लगायतका विषयमा उहाँहरूले नगरपालिकालाई सुझाव दिनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा नगर प्रमुख सुवेदीले सहभागी वक्ताहरूले उठाएका सवालहरूको जवाफ दिनुभएको थियो ।

करिब १ घण्टा ३० मिनेटसम्म सञ्चालन भएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन एफएम प्लस ८९.१ मेगाहर्जका प्रवन्ध निर्देशक एवं सञ्चारकर्मी युवराज भट्टराईले गर्नुभएको थियो भने व्यवस्थापन स्टेसन संयोजक मन्जु डाँगी तथा प्राविधिक संयोजन रमिसा कुँवरले गर्नुभएको थियो ।

Share This Article
Leave a Comment