मतदाताको गोपनीयता भंग नगर्न निर्वाचन कार्यालयको चेतावनी

1 Min Read

माघ २५- सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममार्फत मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर सोधपुछ गरी गोपनीयता भंग गरिएको भन्दै जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ।
कार्यालयले निर्वाचन आचारसंहिता पालना गर्न सबै सरोकारवालालाई ध्यानाकर्षण गराउँदै मतदाताको गोपनीयता भंग हुने कुनै पनि गतिविधि नगर्न/नगराउन आग्रह गरेको हो। निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम यस्तो कार्य आचारसंहिता उल्लङ्घनमा पर्ने जनाउँदै यस्ता गतिविधि नरोके प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने चेतावनी दिइएको छ।
कार्यालयका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुनुभन्दा १७ दिनअघिदेखि मात्र प्रचारप्रसार गर्न पाइने व्यवस्था छ। सो अवधिमा जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यममार्फत प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गर्न पाइने कानुनी प्रावधान रहेको छ।

यद्यपि, आचारसंहिताबारे पटक–पटक छलफल, अन्तर्क्रिया र सूचना प्रकाशन गरी जानकारी गराइए पनि केही राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारबाट उल्लङ्घन भइरहेको कार्यालयले जनाएको छ। निर्धारित समयअगावै कोणसभा, प्रचारप्रसार सामग्री प्रकाशन–प्रसारण तथा घरदैलो कार्यक्रम गरी मतदातालाई प्रभाव पार्ने काम भइरहेको सूचनाका आधारमा यस्तो ध्यानाकर्षण गराइएको हो।
आचारसंहिता उल्लङ्घन गरी कुनै पनि माध्यमबाट प्रचारप्रसार गरेको प्रमाण फेला परे तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले स्पष्ट पारेको छ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेका छन्।

Share This Article
Leave a Comment