२१ पुस– नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने जनआवाजलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ।
रमेश कोइरालाको निर्देशनमा बनेको करिब तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी, सामाजिक न्याय, पारिवारिक उल्झन, पुस्ताबीचको वैचारिक मतभेद र निमुखा जनतामाथि राजनीतिक नेतृत्वले गर्दै आएको खेलबाडलाई चित्रण गरिएको छ।
देश र जनतालाई पटक–पटक धोका दिँदै आएको राजनीतिक नेतृत्व र त्यसको विरुद्ध आवाज उठाउने नयाँ पुस्ताबीचको टकरावलाई केन्द्रमा राखिएको फिल्मले दर्शकमाझ ठूलो चर्चा ल्याउने संकेत गरेको छ। आसन्न आम निर्वाचनको सन्दर्भमा फिल्मले उठाएका विषयवस्तुले सही नेतृत्व छनोटका लागि जनमानसलाई सचेत गराउने अपेक्षा गरिएको छ।
ट्रेलरमा अभिनेत्री बेनीशा हमाल, अभिनेता नरेन खड्का र विनोद न्यौपानेले युवा पुस्ताको भावना सशक्त रूपमा प्रस्तुत गरेका छन्।
दिनेश कोइरालाको कथा तथा निर्माण, कल्पना पौडेलको प्रस्तुति रहेको फिल्ममा सूर्यकान्त कोइराला र महेश कोइराला सह–निर्माता छन्। फिल्ममा बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, सरोज खनाल, नीर शाहलगायत कलाकारहरूको अभिनय रहेको छ।
माघ ९ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने ‘बिगुल’ को छायांकन शिव ढकालले गरेका हुन् भने सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन्।
फस्टलुक पोस्टर, टिजर र गीत सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘बिगुल’ ले मनोरञ्जनसँगै समाज र देशप्रति आम नेपालीलाई सचेत र सजग बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

