राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान खरिद अनियमितता, १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

1 Min Read

१५ माघ—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सिटी स्क्यान मेसिन खरिदमा अनियमितता भएको आरोपमा तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार १२८ स्लाइस सिटी स्क्यान मेसिन खरिद गर्दा सार्वजनिक खरिद ऐनविपरीत मिलेमतो गरी निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी स्पेसिफिकेसन तयार पारिएको थियो। गुणस्तर नपुगेको मेसिन स्वीकार गरी भुक्तानीसमेत गरिएको पाइएको छ।
प्रतिवादीमा तत्कालीन रजिष्ट्रार, निर्देशक, रेडियोलोजी विभाग प्रमुख, बायोमेडिकल इन्जिनियर, खरिद शाखाका कर्मचारी र आपूर्तिकर्ता कम्पनी ‘हिमालयन मेडिटेक प्रा.लि.’ का सञ्चालकसमेत रहेका छन्।
यस प्रकरणमा ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ बराबरको सरकारी हानी नोक्सानी भएको ठहर गर्दै सोही रकम बिगो कायम गरी कैद र जरिवाना माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

Share This Article
Leave a Comment