७ असोज, काठमाडौं । अफिस जाने बेलामा होस् वा कलेज जाने बेला तयार हुने कुरामा केही महिलाहरू अरूको तुलनामा धेरै मेहनत गर्छन् वा अलि राम्रोसँग तयार हुन रुचाउँछन् ।
बिहान हामी अफिस जानका लागि औपचारिक लुगा लगाउँछौँ, दिउँसो साथीसँग लन्च जानका लागि क्याजुअल पोशाक छान्छौं । र, साँझ डिनरमा जानका लागि फरक ड्रेसअप गर्न रुचाउँछौँ । प्रत्येक पोशाकमार्फत हामी अरूसँग गैर–मौखिक रूपमा सञ्चार गर्छौं, चाहे यो जानाजान होस् वा अन्जानमा ।यसमा कुनै शंका छैन कि, हामीले लगाउने लुगाले हामीलाई परिभाषित गर्छ किनभने फेसनले हाम्रो पहिचान र हामीले कस्तो महसुस गर्छौं भन्ने कुरा व्यक्त गर्न पनि मद्दत गर्छ ।
हामीले दैनिक आधारमा लगाउने लुगाले हामी अरूको अगाडि आफूलाई कसरी प्रस्तुत गर्न चाहन्छौं भन्ने देखाउँछ । लुगाले हाम्रो संज्ञानात्मक क्षमतामा पनि प्रभाव पार्न सक्छ । फेसन ट्रेन्ड र राम्रो देखिनका लागि हामीले कति मेहनत गर्छौं, यो महिलाहरूलाई भन्दा कसले राम्रोसँग बुझ्न सक्छ होला र ! सामाजिक सौन्दर्य मापदण्डहरू पालना गर्नाले हाम्रो मानसिक स्वास्थ्यमा मात्र नभई शारीरिक स्वास्थ्यमा पनि प्रभाव पार्न सक्छ, किनभने केटीहरू आफूलाई फिट देखाउनका लागि टाइट बडी सेपर्स लगाउँछन् जसले शरीरमा हसहज हुन सक्छ ।

यस्ता उत्पादनहरू हाम्रा लागि सही छैन वा अस्वस्थ हुन सक्छ भन्ने कुरा थाहा हुन्छ तर यिनीहरू ठूलो मात्रामा प्रयोग गरिन्छ । किनभने, यिनले हामीलाई हाम्रो शरीरको आकारप्रति महसुस गर्ने असुरक्षालाई लुकाउन मद्दत गर्छ ।
आजका युवाहरूका लागि सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमध्ये एक हो, उनीहरू कस्तो देखिन्छन् र के लगाउँछन् । हामी सबै चाहन्छौं हामीलाई र हाम्रो लुक्सलाई मन पराइयोस् । जब कुरा सुन्दर मानिनका लागि के लगाउनुपर्छ भन्ने आउँछ, तब हामी मिडिया र संस्कृतिमा निर्भर हुन्छौं ।
हामीलाई सानैदेखि सिकाइन्छ कि, सौन्दर्यको अर्थ के हो । के राम्रो छ र के छैन, समाजमा के स्वीकार्य छ र के छैन । वरपरका मानिसहरूले तौलको मजाक बनाउँछन्, यस्ता टिप्पणी र सल्लाहले शारीरिक रूपमा हामी गलत छौं र अर्को सही छ ।समाजले आदर्श मानेका सौन्दर्य मापदण्डहरूलाई ध्यानमा राखेर यदि निरन्तर आफ्नो पहिरन परिवर्तन गर्दै हुनुहुन्छ भने, अन्ततः यसले आत्मसम्मानलाई चोट पुर्याउन सक्छ र शारीरिक छविलाई बिगार्न सक्छ जसले आफ्नो बारेमा नकारात्मक विचारहरू उत्पन्न गर्न थाल्छ ।
यदि कुनै व्यक्तिले शरीरको आकार राम्रो छैन वा मान्छेहरूले के भन्लान् भनेर लगाउन चाहेको लुगा लगाउँदैन भने यो आत्मविश्वासको स्तर कम भएको संकेत हो ।यसले आफ्नो व्यक्तित्वलाई विकास गर्न र मानिसहरूसँग बलियो सम्बन्ध विकास गर्नबाट रोक्न सक्छ । यस्तो अवस्थामा केही व्यक्तिहरूमा डिप्रेसन, चिन्ताको समस्या समेत हुन सक्छ । यसले अत्यधिक नकारात्मक विचार र उत्पादकतामा कमी ल्याउन सक्छ।
आफ्नो आत्मसम्मानलाई प्राथमिकता दिनुपर्छ ।आफ्नो बारेमा राम्रा कुराहरू, अर्थात् राम्रा गुणहरू पहिचान गर्ने र तिनलाई अझै सुधार गर्ने काम गर्नुपर्छ । ती व्यक्तिहरूसँग धेरै समय बिताउनुपर्छ जसले गर्छन् र त्यस्तै स्वीकार गर्छन् । आवश्यक परेमा, थेरेपी वा मानसिक स्वास्थ्य विशेषज्ञको सल्लाह लिनुपर्छ ।

