समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

1 Min Read

२८ पुष,झापा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने छन्।
निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूले पुस १३ र १४ गते पेस गरेको बन्दसूचीमा समावेश उम्मेदवारले आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था गरिएको हो।
निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यस सम्बन्धमा सबै सम्बन्धित उम्मेदवारलाई जानकारी गराइसकिएको छ। आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ।
बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ। कुनै कारणवश उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ।

Share This Article
Leave a Comment