सूचीकृत कम्पनीमा लाभांशको सिजन सुरु

4 Min Read

 सारांश

  • कम्पनीहरूले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट लाभांश घोषणा गर्न थालेका छन्।
  • हालसम्म ३७ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्, जसमा ३.८% देखि २१.०५% सम्म लाभांश घोषणा गरिएको छ।
  • माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ, दसैँ अगावै लाभांश वितरणको तयारी छ।

काठमाडौँ । सूचीकृत कम्पनीमा लाभांशको सिजन सुरु भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा आर्जित तथा सो अवधिसम्म सञ्चित नाफाबाट सूचीकृत विभिन्न क्षेत्रका कम्पनीले लाभांश घोषणा गर्न थालेका हुन् । बैंक तथा वित्तीय संस्थादेखि हाइड्रोपावर कम्पनीमध्ये केहीले लाभांश घोषणा गर्न थालिसकेका छन् । 

बजारमा सूचीकृत रहेकामध्ये धेरैजसो म्युचुअल फण्डहरूले यस वर्षका लागि आफ्नो लाभांश घोषणा गरिसकेका छन् । हालसम्म ३७ वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१/०८२ को कारोबारका आधारमा लाभांश घोषणा गरेका छन् । त्यसमध्ये अधिकांश सूचीकृत फण्ड छन् भने केही बजारमा सूचीकरण नभएका खुलामुखी म्युचुअल फण्ड छन् । उनीहरूले यसपटक ३.८ प्रतिशतदेखि २१.०५ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् ।

यसरी लाभांश घोषणा गर्नेमध्ये ६ वटा खुलामुखी म्युचुअल फण्ड छन् । यस्ता म्युचुअल फण्डका इकाईहरू खुला बजारमा कारोबार हुँदैनन् । खुलामुखी म्युचुअल फण्डमा एउटाले १६ प्रतिशत लाभांश घोषणा गर्दा बाँकीको लाभांश दर एकल अङ्कमा रहेको देखिन्छ । 

1
Embark college

म्युचुअल फण्डले साधारणसभा गर्नु नपर्ने भएकाले तत्कालै लाभांश घोषणा गर्न सक्छन् । त्यसैले क्षमता अनुसार दसैँ–तिहारभन्दा अगाडि नै लाभांश वितरण गर्ने गरी यस्ता फण्डहरूले तयारी गरेका हुन्छन् । तर, सूचीकृत अन्य कम्पनीको हकमा भने लेखापरीक्षण गर्नुपर्छ । यस्तो लेखापरीक्षणलाई नियामक निकायबाट स्वीकृत गराएरमात्रै ती कम्पनीले लाभांश घोषणा गर्न सक्छन् । बैंक तथा वित्तीय संस्थाको हकमा लाभांश समेत नियामक निकायबाट स्वीकृत गराएरमात्रै साधारणसभामा घोषणा गर्नुपर्ने व्यवस्था छ । 

यी प्रक्रियाका बाबजुद केही कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । बैंकिङ समूहमध्ये हालसम्म माछापुच्छ्रे बैंकले पहिलोपटक यस वर्षको लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबारको बोर्ड बैठकले ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको हो । यो हिसाबले बैंकले दसैँ अगावै सेयरधनीलाई लाभांश पठाउनेगरी तयारी अघि बढाएको देखिन्छ । 

सूचीकृत हाइड्रोपावरमध्ये हालसम्म दुई हाइड्रोपावरले हालसम्म लाभांश घोषणा गरेका छन् । मिड सोलो हाइड्रोपावर र सिक्लेस हाइड्रोपावरले यस्तो घोषणा गरेका हुन् । दुवै हाइड्रोले १५ प्रतिशत बोनस सेयर र यसमा कर प्रयोजनको लागि लाग्ने नगद लाभांश दिने प्रस्ताव गरेका छन् । छिटो साधारणसभा आह्वान गरे पनि यी कम्पनीका सेयरधनीले नगद प्राप्त भने गर्ने छैनन् । 

लगानी समूहमा रहेको अर्को कम्पनी हाथवे इन्भेस्टमेन्टले पनि यस वर्षका लागि लाभांश घोषणा गरिसकेको छ । यस कम्पनीले यस वर्ष १२ प्रतिशत बोनस सेयर र यसमा लाग्ने करबापतको नगद लाभांशको प्रस्ताव गरेको छ ।

दसैँअघि लाभांशको सम्भावना कति ? 

सूचीकृत कम्पनीले लाभांश वितरण गर्नुअघि साधारणसभाबाट पारित गर्नुपर्ने व्यवस्था कम्पनीसम्बन्धी कानुनमा छ । पब्लिक कम्पनीले वार्षिक साधारणसभा गर्नुभन्दा २१ दिनअघि साधारणसभा आह्वान गर्नुपर्ने कानुनी व्यवस्था छ । 

यो वर्षको दसैँ बिदा असोज १३ गतेदेखि सुरु हुन्छ । यस अनुसार असोज १२ गतेसम्म साधारणसभा गर्ने सूचीकृत कम्पनीले लाभांश वितरण गर्न सक्छन् । यसका लागि भदौ २२ गतेसम्म साधारणसभा बोलाइसक्नुपर्छ । 

बैंकिङ क्षेत्र र बीमा कम्पनीबाहेक अन्य सूचीकृत कम्पनीले लाभांश घोषणाका लागि नियामकसँग स्वीकृति लिनु नपर्ने भएकाले लाभांश घोषणा र साधारणसभा आह्वान एकैपटक गर्न सक्छन् । बैंक वित्तीय संस्थाहरू र बीमा कम्पनीले भने वित्तीय विवरण स्वीकृत गराई यस अनुसारको लाभांश निर्णय गरी स्वीकृत गराएपछि मात्रै लाभांश घोषणा गर्न पाउँछन् । त्यसैले अहिलेसम्म वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक वा बीमा प्राधिकरणमा नपुगेका कम्पनीको लाभांश वितरणको सम्भावना कम छ ।

राष्ट्र बैंकका अनुसार अहिलेसम्म सात वटा वाणिज्य बैंकले वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेका छन् । बैंक तथा वित्तीय संस्थाले अपरिस्कृत वित्तीय विवरण अनुसार ३८ प्रतिशतसम्म लाभांश दिने क्षमता रहेको उल्लेख गरेका छन् । 

2
Share This Article
Leave a Comment