स्कुलचौन माध्यमिक विद्यालयका विद्यार्थीलाइ न्यानो कपडा वितरण :-

1 Min Read

२५ पौष झापा  । गौरादह–५ स्थित स्कुलचौन माध्यमिक विद्यालयका ४६३ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । बिहीबार (हिजो) विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्राथमिक तहका सम्पूर्ण ४०३ जना तथा कक्षा ६ देखि १० सम्मका छनोट गरिएका ६० जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको हो ।


सामाजिक संस्था, विभिन्न अक्षयकोष तथा अन्य दाताहरूको सहयोगमा विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको विद्यालयले जनाएको छ । सामाजिक संस्था अप्लिफ्ट अ चाइल्ड इन्टरनेसनलको सहयोगमा १२० जना, खगेन्द्र ब. लिम्बु स्मृति अक्षयकोषबाट २३२ जना, इन्द्रमान–पुण्यदेवी कार्की अक्षयकोषबाट ७० जना, कर्णबहादुर–धनमाया बस्नेत अक्षयकोषबाट २० जना तथा स्कुलचौन माध्यमिक विद्यालय र अन्य दाताहरूबाट २१ जोर ट्र्याकसुट वितरण गरिएको अप्लिफ्ट अ चाइल्ड नेपालका अध्यक्ष तिलबहादुर बस्नेतले जानकारी दिनुभयो ।


कार्यक्रम गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, जिल्ला समन्वय समिति झापाका सदस्य कपिलमणि काफ्ले, गौरादह–४ का वडाध्यक्ष दुर्गामणि बस्नेत, गौरादह–५ का वडाध्यक्ष जगन्नाथ खनाल, अक्षय दाता, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेशकुमार खरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Share This Article
Leave a Comment