स्क्रब टाइफसको बढ्दो सङ्क्रमण, ६८ जिल्ला प्रभावित

3 Min Read

२८ असोज,काठमाडौँ । स्क्रब टाइफसका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१ का गजेन्द्र केसी र दार्मा गाउँपालिका–३ का ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय, सल्यानले जनाएको छ ।

दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो, उनीहरूलाई जिउ दुख्ने र ज्वरो आउनेजस्ता स्वास्थ्य समस्या देखिएपछि औषधि सेवन गरे पनि उच्च ज्वरो नघटेकाले श्वासप्रश्वासमा समस्या भएको थियो । त्यसपछि थप उपचारका लागि अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भयो ।

पछिल्लो समय नेपालमा स्क्रब टाइफसका सङ्क्रमितको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य शाखाका अनुसार हालसम्म ६ हजारभन्दा बढी केसहरू पुष्टि भएका छन् । कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले समयमै निदान र उपचार नभए यो रोग प्राणघातक हुनसक्ने बताउँछन् । यद्यपि यसको उपचार भने सहज र निःशुल्क उपलब्ध रहेको उनको दाबी छ ।

नेपालमा स्क्रब टाइफस अनुसन्धानका लागि पत्ता लागेको भए पनि २०७२ को भूकम्पपछि रिपोर्टिङ गर्न थालिएको हो । भूकम्पपछि घरबाहिर चौर, झाडी नजिक बस्नुपर्ने बाध्यताका कारण सङ्क्रमण बढी देखिन थालेको थियो । त्यसपछि प्रत्येक वर्ष स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

सन् २०२३ मा ८ हजार जना सङ्क्रमित भएका थिए भने सन् २०२४ मा १० हजार १७९ जना सङ्क्रमित भएका थिए । र सन् २०२५ देखि हालसम्म ६ हजार ५ सय केसहरू रिपोर्ट भएका छन् ।

हाल स्क्रब टाइफसका सङ्क्रमितहरू नेपालका ६८ भन्दा बढी जिल्लाहरूमा देखिएका छन्, खासगरी नुवाकोट, धादिङ, चितवन, पाल्पा, कैलाली, कञ्चनपुर, दाङ, सङ्खुवासभा, कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, रोल्पा, अछाम, डडेलधुरा र डोटी लगायतका जिल्लाहरूमा यसको सङ्क्रमण बढी देखिएको छ । हालसम्म स्क्रब टाइफस पहाडी र शहरी क्षेत्रमा देखिएको प्रमुख डा. दाहालले बताए । तथ्याङ्कअनुसार दाङमा करिब ५००, चितवनमा २६६, सङ्खुवासभामा २३५ र अछाममा २७१ जना सङ्क्रमित रिपोर्ट भएका छन् ।

यो रोग लामखुट्टेले सार्ने डेंगु वा मलेरियाजस्तो नभई ‘चिगर माइट्स’ (एक प्रकारको कीर्ना) नामक कीराको टोकाइका कारण सर्ने डा. दाहालले बताए । यी कीर्नाहरू खासगरी घाँसपात र झाडीमा टाँसिएर बसेका हुन्छन् ।कीर्नाले टोकेको ठाउँमा चुरोटले पोलेको जस्तो कालो दाग देखिनु यसको एक लक्षण हो । थकान महसुस हुने, पेट दुख्ने, खोकी लाग्नेजस्ता लक्षणहरू पनि देखिने उनले बताए । कहिलेकाहीँ यसले मस्तिष्कमा असर गर्ने, आँखाको सङ्क्रमण गराउने वा लिम्फ ग्रन्थीहरू सुन्निने पनि हुनसक्ने उनले बताए । 

Share This Article
Leave a Comment