झापा – हरेक सम्बन्धको आफ्नै विशिष्टता हुन्छ। कुनै सम्बन्ध स्वार्थको लेनदेनमा बाँधिन्छन् भने केही नितान्त निस्वार्थ, पवित्र र मानवीय साहचर्यमा टेष्ट हुन्छ। मित्रताको सम्बन्ध त्यही अमूर्त धरातलमा टेकेर उभिन्छ जहाँ स्वार्थको कुनै औचित्य हुँदैन, केवल भाइचारा, सद्भाव र परस्पर हमदर्दीले मात्र स्थान पाउँछ । त्यही स्वच्छ भावनाले गुँथिएको एउटा सुन्दर सम्बन्ध मेरो लागि नेपालको एक चर्चित फोटो ग्राफर उमेरले वरिष्ठ तर स्वभावले अत्यन्त मित्रवत्, अनुप कुमार खड्गीसँगको म नजिक छु।विश्व सम्पदा दिवसका सन्दर्भमा भारतस्थित विश्व सम्पदा सूचीमा सूचीकृत प्रसिद्ध धार्मिक र सांस्कृतिक पर्यटन स्थलहरूको भ्रमणका क्रममा म ठीक त्यस सप्ताहव्यापी कार्यक्रमको पूर्वसन्ध्यामा भारतमा थिएँ। त्यही बेला अनुप दाइले ह्वाट्स एपमा सन्देश पठाउनु भयो “गोकुल भाइ, यो कार्यक्रममा अवश्य आउनु है।”, भनी कार्यक्रमको व्यानर पठाइदिनुभयो। सुरुमा मैले सोचेँ शायद कुनै गीत संगीतसम्बन्धी सांस्कृतिक समारोह होला। तर काठमाडौं फर्किएपछि पनि दाइले विहानै फोन गरी सम्झाउनुभयो “आज नबिर्स, दिउँसो दुई बजे पर्यटन बोर्डको प्रेक्षालयमा भेटौँ ।” अरे, कसैले यसरी आत्मीयतापूर्वक कुनै कार्यक्रममा फलोअप गर्दै निम्त्याएको मैले दुर्लभ अनुभूति गरेको थिएँ । त्यसैले म तुरुन्तै कार्यक्रम स्थलतर्फ लागेँ। नेपाल पर्यटन बोर्डको सभाहल प्रौढावस्थाका मान्यजनहरूले खचाखच भरिएको थियो। दाइले प्रेक्षालयमा अगाडि श्रद्देय उज्वलविक्रम थापासँगै एक विशेष आसन औँल्याएर बस्न आग्रह गर्नुभयो।उज्वल विक्रम थापा जो नेपालमा जलन पीडितहरुको लागि निरन्तर एक्लो पहलमा मानवीय सेवामा समर्पित हुनुहुन्छ। म भने विनम्रतापूर्वक पछाडितिर रहेको एक खाली सिट रोजेँ र चुपचाप दर्शकका रूपमा कार्यक्रम अवलोकन गरिरहेँ ।उक्त समारोहमा उपस्थित प्रमुख व्यक्तिमध्ये नेपाली साहित्य, वाङ्मय र चलचित्र क्षेत्रका ख्यातीप्राप्त निर्देशक प्रकाश सायमी पनि हुनुहुन्थ्यो। कार्यक्रम सञ्चालनकर्ताले उहाँलाई “नेपाली गीतस ङ्गीत तथा चलचित्र क्षेत्रका जीवित इन्साइक्लोपेडिया” भनेर सम्बोधन गर्दै थिए जो कार्यक्रमको समालोचकको भूमिकामा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमपश्चात् मेरो उहाँसँग अर्थपूर्ण भेटघाट भयो ।

प्रकाश सायमीले कार्यक्रमको आवश्यकता, औचित्य, समाजसँगको सम्बन्ध तथा तीनसय साठी डिग्रीको विश्लेषणीय कोणहरू अत्यन्त मार्मिक र सूक्ष्म दृष्टिले व्याख्या गर्नुभयो। उहाँका कतिपय अभिव्यक्तिहरू यहाँ अक्षरबद्ध गर्न नसके पनि, सो समारोह १५० वर्षअगाडिकै कालखण्डदेखि उभिएका गायक गायिकाहरू, अमर गीतका सर्जकहरू र नेपाली संगीतको उत्तरवर्ती परम्परासहितका विरासतहरूको पुनर्स्मरण र सम्मानमा समर्पित रहेको तथ्य यहाँ उल्लेख गर्न मन लागेको छ।सिर्जनात्मक आत्माहरू भने भौतिक रूपमा दिवंगत भएर पनि आफ्ना स्वर, शब्द र संवेदनाको माध्यमबाट युगयुगान्तरसम्म अमर रहिरहन्छन् ।गीत संगीतको सौन्दर्य र सांस्कृतिक तापक्रम नै देशलाई विश्वसामु चिनाउने जीवित न्यानो श्वासजस्तै प्रतीत हुन्छ। यस कार्यक्रममा स्मरण गरिएका गायक गायिकाहरू पनि काठमाडौं वडा २७ निवासी भएको र वडाअध्यक्ष साथै अनुप दाइ पनि ती कालजयी अमर गायक गायिकाहरूको पछिल्लो पुस्ता भएको पुष्टीले यो कार्यक्रमको सार्थकता अझ औचित्यपूरुण भएको पुष्टी गर्यो।
विक्रम संवत् २०८२ साल मंसिर ६ गते, शनिबार, साँझ ४ बजे काठमाडौँ महानगरपालिका-२७, महाबौद्ध स्थित वडा कार्यालयको आयोजनामा “आदि गायक सेतुराम श्रेष्ठ (प्रधान) तथा उनका उत्तरवर्ती गायक-गायिकाहरूको सम्मानमा स्मृति उत्सव२०८२” कार्यक्रम प्रदर्शनीमार्ग स्थित नेपाल पर्यटन बोर्डको, सभाहलमा भव्यतापूर्वक सम्पन्न भयो।

काठमाडौं महानगरपालिका–२७ को आयोजनामा सम्पन्न सांस्कृतिक कार्यक्रममा सञ्चारकर्मी सैलाजा सिंहले शालीन एवं प्रभावकारी ढंगबाट सञ्चालन गर्नुभयो। कार्यक्रममा शैलेश सिंह, रोसी श्रेष्ठ, एन्जेला श्रेष्ठ, रश्मि अमात्य तथा देवेन्द्र सिंहले आदि गायक सेतुराम श्रेष्ठ (प्रधान) तथा उनका उत्तरवर्ती गायकगायिकाहरूको सम्मानार्थ प्रस्तुत गरिएका गीतहरूले वातावरणलाई कालजयी बनाए। साथै पुरानो ग्रामोफोन रेकर्डिङ समेत प्रसारण गरिँदा सेतुराम श्रेष्ठको अमूल्य संगीत परम्पराप्रतिको सम्मान झनै उजागर भयो।
कार्यक्रमको अध्यक्षता वडा नं. २७ का अध्यक्ष योगेश कुमार खड्गीले गर्नुभएको थियो। सिर्जना कंसाकार (तुलाधर) महिला सदस्यले उपस्थित अतिथिहरू तथा सहभागीहरूलाई हार्दिक स्वागत व्यक्त गर्नुभयो। कार्यक्रममा वडा नं. २७ का प्रौढावस्थाका मुर्धन्य व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रह्यो। काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कार्यक्रमको आयोजनाको सार्थकता र औचित्यता औँल्याउँदै मन्तव्य व्यक्त गर्नुभयो। यस्तै, प्रकाश सायमीले कार्यक्रमको सम्पूर्ण पक्षलाई समालोचना गर्नु भयो। औपचारिक रूपमा कार्यक्रम समापन भएपश्चत नेवाः समुदायको चर्चित “समयबजी” खाने कार्यक्रम रहेको थियो। प्रस्तुत छ उक्त कार्यक्रममा स्मरण गरिएका कालजयी गायक गायिकाहरूको संक्षिप्त टिपोट।
गायक सेतुराम श्रेष्ठ (प्रधान)
नेपाली गीत सङ्गीतको विकासक्रममा सेतुराम श्रेष्ठ (प्रधान) को योगदान आधारभूत, मार्गप्रदर्शक र ऐतिहासिक रूपमा असाधारण मानिन्छ। आधुनिक नेपाली संगीतका आदिपीठिका व्यक्तित्वका रूपमा स्थापित उनी ध्वनि मुद्रण संस्कृतिको प्रारम्भिक चरणमा नै आफ्नो अद्वितीय स्वर प्रस्तुत गर्दै नेपाली संगीतलाई मौखिक परम्पराबाट आधुनिक संरचना र ध्वनि प्रविधितर्फ उन्मुख गराउन निर्णायक भूमिका निर्वाह गरेका थिए। भारतस्थित हिस मास्टर्स भ्वाइस (HMV) मार्फत उनले रेकर्ड गराएका गीतहरू आज पनि सांगीतिक इतिहासका दुर्लभ दस्तावेजका रूपमा मूल्याङ्कन गरिन्छ जसले नेपाली संगीतलाई राष्ट्रिय सीमाभन्दा बाहिर पुर्याउँदै विश्वसामु परिचित गरायो।उनको गायन शैलीले लोकधुन, रागदारी र आधुनिक भाव सौन्दर्यको सन्तुलित संगम प्रस्तुत गर्दै नेपाली संगीतलाई सांस्कृतिक मौलिकता र कलात्मक अनुशासन दुवै प्रदान गर्यो। शब्द, धुन र भावनाको गहन समन्वयसहित प्रस्तुत उनका गीतहरू भाव प्रवाह, शुद्ध उच्चारण र सौन्दर्यमय सम्पन्नताका कारण आधुनिक नेपाली भाव गीत परम्पराका आधारस्तम्भ बने। सेतुरामको सांगीतिक धरोहरले केवल आफ्नै कालखण्डलाई समृद्ध बनाएको मात्र नभई उत्तरवर्ती कलाकारहरूलाई प्राविधिक, शैलीगत र कलात्मक दिशानिर्देश प्रदान गर्दै नेपाली संगीत यात्रामा निरन्तर प्रेरणाको स्रोत बनिरह्यो।यसरी, सेतुराम श्रेष्ठ (प्रधान) को व्यक्तित्व र कृतित्व नेपाली सांगीतिक इतिहासको मूल धारा निर्माण गर्ने अद्वितीय शक्ति हो।उनको ध्वनिमुद्रण, कलात्मकता, परम्परा र आधुनिकताको संयोजन तथा सांस्कृतिक पहिचान निर्माणमा रहेको योगदानले उनलाई आधुनिक नेपाली गीत सङ्गीतका शाश्वत स्तम्भका रूपमा प्रतिष्ठित बनाएको छ। उनले गीत रेकर्ड गराउने समयमा तीन मिनेटभित्र रेकर्ड गराइसक्नु पर्ने हुन्थ्यो । बाध्यवाधक गायक सबैको संयोजन विना र कसैको पनि सानो त्रुटीले समग्र तयारी पुनः सुरू गर्नु पर्ने अवस्था आउँथ्यो। ग्रमोफोनमा रकेर्डेड गीतहरूमा गायक सेतुराम श्रेष्ठ भन्नु हुन्थ्यो रे अन्तिममा “वाह्वा वाह्वा सेतुराम”। उनको पहिलो गीत “राजामति कुम्मति” नै नेपालको पहिलो रेकर्ड गरिएको गीत हो। ऐतिहासिक रूपमा, राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणमा जाँदा यही गीत पहिलो राष्ट्रिय धुनको रूपमा बजाइएको उल्लेख पाइन्छ, जसले सेतुराम श्रेष्ठको योगदानलाई अझ अद्वितीय बनाउँछ। काठमाडौंमा जन्मेहुर्केका सेतुराम श्रेष्ठ नेपाली आधुनिक गीतसंगीतका आदि गायक मानिन्छन्। उनले १९६५ सालमा नै माध्यमिक कालीन प्रसिद्ध शृङ्गारिक कवि मोतीराम भट्टद्वारा सिर्जित गजल “यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्” गाएर आफूलाई नेपाली भाषामा गीत रेकर्डिङ गर्ने पहिलो गायकका रूपमा दर्ज गरे।नरेन्द्रराज प्रसाँईले आदिगायक सेतुरामको जीवनी लेखेर प्रसंशनीय काम गरेका छन्।
गायक सेतुराम, जसलाई नेपाली संगीत इतिहासमा आदिगायकका रूपमा सम्मान गरिन्छ, १९४० साल मंसिरमा काठमाडौंको असन कमलाक्षीमा कृष्णधर प्रधान र हरिदेवी प्रधानका तीन सन्तानमध्ये कान्छा छोराका रूपमा जन्मिएका थिए। सांगीतिक वातावरणमा हुर्किएका उनले दाजु कृष्णदास र दिदी राममायाबाट पनि कलात्मक प्रेरणा पाए, तर स्वयं सेतुराम भने मन, वचन र कर्मले पूर्णतः संगीतमा समर्पित व्यक्तित्व बने। परिवारका अग्रज कृष्णधर प्रधानले उनीभित्रको प्रतिभा पहिचान गरी संगीत यात्राको लागि अनुकूल वातावरण तयार पारिदिए। १९६५ सालमा उनले आफ्नो पहिलो गीत प्रस्तुत गर्दै नेपाली सांगीतिक इतिहासमा आधुनिक ध्वनिमुद्रण युगको प्रारम्भ गरे। मोतीराम भट्टको शब्दमा आधारित “यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्” गजल, जसको धुन समेत उनले स्वयं रचे, नेपाली संगीतमा रेकर्ड भएको पहिलो गीतका रूपमा स्थापित रह्यो। गजलदेखि लोक झ्याउरे शैलीसम्म समान निष्ठाका साथ योगदान दिने उनको गायनकला जनमानसदेखि राणा दरबारसम्म प्रशंसित थियो। पछि जनकलाल श्रेष्ठको पहलमा कोलकातासम्म पुगेर उनले आफ्नै स्वरमा सातवटा रेकर्ड निर्माण गराए, जसमा चौध वटा गीत समावेश थिए। ती रेकर्डले नेपाली संगीतमा हलचल मचेपछि राणा शासकहरूको ध्यान उनतर्फ आकृष्ट भयो र उनी उच्च दरबारी वृत्तसम्म सहजै प्रवेश पाए। ओजपूर्ण स्वर, निर्भीक प्रस्तुति र शैलीगत मौलिकताका कारण उनले नेपाली गीत संगीतमा नयाँ आयाम थपे। “ए आमा सानीमा फूलको थुँगो खस्यो पानीमा” जस्ता झ्याउरे गीतहरू जन जीवनमा अत्यन्त लोकप्रिय भए, र काठमाडौं उपत्यकाभरका कार्यक्रमहरूमा उनको उपस्थिति स्वयं आकर्षणको केन्द्र बन्थ्यो। जीवनभरमा उनले १६ नेपाली गीत “गजल, भजन र झ्याउरे” रेकर्ड गराए, साथै १२ नेवारी गीत प्रस्तुत गर्दै काठमाडौं उपत्यकामा विशेष प्रिय बने। “राजामति कुमती” जस्ता गीतहरूले उनलाई नेवार समुदायभित्र विशेष सम्मान दिलाएको थियो। गीत गाउँदागाउँदै मनोरञ्जनात्मक शैलीमा नृत्यसमेत गर्ने उनको चञ्चल कलात्मकता अत्यन्त लोकप्रिय रह्यो। जिब्रोमा घाउ उत्पन्न भई १९९७ सालदेखि अस्वस्थ बनेपछि उनका स्वरहरू क्रमशः मौन हुँदै गए, र अन्ततः यही रोगले उनको जीवन समाप्ति गरायो। सेतुरामको सांगीतिक यात्रा, साहसिक प्रस्तुति, र सांस्कृतिक योगदानले उनलाई नेपाली संगीतको आधारशिला व्यक्तित्वका रूपमा प्रतिष्ठित बनाएको छ।
गायक सेतुराम श्रेष्ठ (प्रधान) को उत्तरवर्ती गायक गायिकाहरू
मास्टर रत्नदा दास प्रकाशः
मास्टर रत्नदास प्रकाशको गायन मात्र नभई अभिनय तथा नृत्यमा पनि विशेष भूमिका रहेको र युवा अवस्थामै प्रसिद्धी पाएपछि उनको नाममा “प्रकाश” जोडिन गएको हो।गायक रत्नदास प्रकाश रूप, स्वर र बोलीचालीमा समान रूपले आकर्षक व्यक्तित्वका धनी थिए। उनका गीत सुन्न युवतीहरू जति मोहित हुन्थे, उनको व्यक्तित्व र मधुर वाणीप्रति पनि उत्तिकै आकृष्ट हुन्थे। निर्भीक स्वभाव र कलात्मक असाधारणता राजा महेन्द्रलाई मन परेको कारण उनलाई “प्रकाश” उपाधिद्वारा सम्मानित गरियो, जसपश्चात् उनको सामाजिक प्रतिष्ठा क्रमशः उच्च हुँदै गयो। रत्नदास प्रेमभावना अभिव्यक्त गर्न असाधारण रूपले सक्षम थिए। नाटक खेल्दा रंगमञ्चमै उनी कतिपय अभिनेत्रीहरूको प्रिय पात्र भइसकेका हुन्थे, र प्रेमक्रीडाको कलामा उनको तुलना कठिन मानिन्थ्यो। कृष्णलीलामा उनीसंग सम्बन्धित एक प्रसङ्गले जुद्धशमशेर अप्रसन्न बने पनि कान्छी महारानीको पहलले उनी संभावित दण्डबाट उन्मुक्त भए। यद्यपि सत्तापक्षबाट प्राप्त धम्की, अपमान र दबाबले पनि उनी युवतीहरूसँग हास्य विनोद, समीपता र कलात्मक स्नेह व्यक्त गर्न कहिल्यै रोकिएनन्। गृहस्थ जीवनमा पनि उनी आफ्नो परिवार र पत्नीप्रति अत्यन्त स्नेही थिए। १९७० माघ कृष्णाष्टमीका दिन काठमाडौंको लाजिम्पाटमा भवानीदास खड्गी र हीरामाया खड्गीका साहिँला छोरा भएर जन्मिएका रत्नदास बाल्यकालदेखि नै गायनप्रति अनुरक्त थिए। उनी गीत संगीततर्फ उन्मुख हुनप्रेरित गर्ने प्रमुख व्यक्तित्व उनीकै आमा थिइन्, जसले प्रतिभाशाली पुत्रलाई उस्ताद भैरवलाल प्रधानसँग संगीत शिक्षा दिलाउने वातावरण निर्माण गरिन्। पछि उनले टी.एल. राणा र उस्ताद रामबहादुर तण्डुकारसँग पनि संगीत सीखे र क्रमशः आफैँ प्रतिष्ठित गुरुका रूपमा उभिए। अभिनय कलामा पनि रत्नदास समान रूपले प्रखर थिए। जुँगा उम्रनुअघि नै उनले रङ्गमञ्चमा महिला पात्रहरूको सफल अभिनय गर्दै दरबारदेखि रंगमञ्चका समीक्षकरूमसम्म सबैको प्रशंसा अर्जन गरे। नाट्यसम्राट् बालकृष्ण समले उनका अभिनय र गायन प्रतिभाको प्रशंसासहित लेखेअनुसार “रत्नदास गीत गाउँदै रंगमञ्चमा उभिँदा मानिसहरू मुग्ध र मोहित हुन्थे।” उनी शास्त्रीय, आधुनिक र लोक तिनै विधामा समान दक्ष थिए, र विशेषतः झ्याउरे गीत गायनमा उनको कौशल अनुपम मानिन्थ्यो। अभिनय र गायन दुवै क्षेत्रमा उतिकै सम्मान प्राप्त गरेका रत्नदास प्रकाशका गीतका रेकर्डहरू नेपाल भारतका बजारमा अत्यन्त लोकप्रिय भए। कोलकातास्थित रेकर्डिङ केन्द्रीले बिक्रीका आधारमा उनलाई सम्मानपत्र र पुरस्कार प्रदान गर्यो। जुद्धशमशेरका छोरा शान्तशमशेरबाट प्राप्त असर्फी र पछिल्ला वर्षमा प्राप्त इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार उनको कलात्मक प्रतिष्ठाका साक्षी हुन्। उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कार्यकारी सदस्यसमेत रहेका थिए।२००७ सालमा उनी रेडियो नेपालमा गायकका रूपमा प्रवेश गरे। प्रारम्भिक एक वर्ष निःशुल्क सेवा गरेपछि २००८ सालदेखि राजकीय निर्णयअनुसार सशुल्क पदमा नियुक्त भए। उनले अत्यधिक गीत प्रस्तुत गरे तापनि चालीसवटा गीतको आधिकारिक ध्वनिमुद्रण सुरक्षित छ, साथै उनी स्वयंले सिर्जना गरेको संगीत पनि समुचित रूपमा सङ्ग्रहित छ। २०३२ सालमा सेवा निवृत्ति लिएपछि पनि नेपाली संगीतप्रति उनको समर्पण अविचल रह्यो। कसाई समुदायका व्यक्तिलाई बग्गीमा राखी काठमाडौं परिक्रमा गराइएको दुर्लभ उदाहरण २०२८ सालमा रत्नदास प्रकाशकै सम्मानमा सम्भव भयो, जसले नेपाली समाजमा कलात्मक प्रतिभाप्रति बढ्दो सम्मानको नयाँ अध्याय खोलेको थियो। २००० सालतिर कोलकाताको रेडियोबाट नेपाली गीत प्रसारण गर्ने अवसर प्राप्त गर्दै उनी नेपालमा माइकमा गीत गाउने प्रथम गायकका रूपमा दर्ज़ा पाए। कविवर म.वी.वि. शाह, राजा महेन्द्र र तत्कालीन राजपरिवारबाट प्राप्त सद्भाव र सम्मानका कारण उनी राष्ट्रिय सांस्कृतिक क्षेत्रका अनिवार्य हस्तीका रूपमा स्थापित भए। नेपाली कला, साहित्य र सङ्गीतलाई प्रतिष्ठित बनाउन तथा त्यो प्रतिष्ठालाई जनमानसमा उजागर गर्न रत्नदास प्रकाशले निर्वाह गरेको भूमिका अत्यन्त प्रेरणादायी छ। जीवनभर नेपाली गीत संगीतलाई हृदयमा धानेर कलात्मक यात्रामा समर्पित रहेकामा, उनले अन्ततः २०४९ कात्तिक ९ गते इहलीला समाप्त गरे। नेपाली संगीतको भव्य इतिहासमा उनको योगदान सदैव स्मरणीय रहनेछ।
मास्टर मित्र सेनः
मित्रसेन थापा मगर नेपाली संगीत, साहित्य र नाट्यकला परम्पराका अग्रगण्य व्यक्तित्व मानिन्छन्। उनी लोकगायक, कवि, नाटककार, निबन्धकार, गीतकार तथा संगीतकारका रूपमा समान रूपले सम्मानित छन्। सन् १८९५ डिसेम्बर २९ मा धर्मशालाको भाग्सुस्थित तोतारानीमा जन्मिएका उनले पर्वत जिल्लाको राखुपूला आफ्नो पुर्ख्यौली मूल थलोका रूपमा धान्दै आएका थिए। केवल १६ वर्षको उमेरमा भारतीय सैनिक सेवाअन्तर्गत पहिलो गोर्खा राइफल्सको प्रथम बटालियनमा भर्ना भई सैन्य जीवन आरम्भ गरेका उनले अवकाशपछि आफ्नो सम्पूर्ण समय नेपाली गीत संगीत, नाटक र समाजसेवाको उन्नयनमा अर्पण गरे। सन् १९४६ अप्रिल ७ मा उनका जीवनदीप मन्द भए पनि उनले छोडेको कृतित्व दुवै देश नेपाल र भारतको सांस्कृतिक इतिहासमा गहन सम्मानका साथ स्मरण गरिन्छ। भारतका आठ स्थानमा र नेपालको दुई स्थानमा स्थापित शालिक तथा नेपाल भारत दुवै देशमा जारी हुलाक टिकटले उनको योगदानको आधिकारिक मान्यता प्रतिविम्बित गर्दछ। संगीत इतिहासको दृष्टिले मूल्यांकन गर्दा, आजभन्दा शताब्दी अघिकै समयमा नेपाली गीतलाई व्यापक लोकप्रियता दिलाउने सम्भावनायुक्त आवाजको रूपमा मित्रसेन उदाएका थिए। परिष्कृत आधुनिक संगीत परम्परा पूर्ण विकसित नहुँदा पनि उनले गाएका गीतहरू सर्वसाधारणको मुखमा झुण्डिने लोकभावनायुक्त अमर सृजनाहरू बने। ‘मलाई खुत्रुक्कै पार्यो’, ‘लाहुरेको रेलीमाई’, ‘धानको बाला झुल्यो’, ‘किन गर्छौँ तानातानी’, ‘अब त जाऊँ कान्छी’, ‘नजाऊ छाडी विदेश’, ‘चुइँचुइँ चुइँकिने जुत्ता जस्ता झ्याउरे र लोकलययुक्त गीतहरू आज पनि उतिकै ताजगीका साथ जीवन्त छन्। ग्रामोफोनमा रेकर्ड गरिएका उनका गीतहरू नेपाली संगीत विरासतका कालजयीय धरोहर मानिन्छन्। उनी जब ‘फूलको कोपिलाझैँ स्वच्छ जीवन बिताउने आशयले सैनिक जीवनबाट घर फर्किए, त्यतिखेर नियतिले निकै कठोर रूप लियो। सेनाको कठोर अनुशासन छाडेर घरेलु जीवनको शान्तिमा फर्किएका उनलाई चार वर्षमै हैजाले आक्रमण गरी उनकी श्रीमती र तीन सन्तानलाई एकैपटक खोसेर लग्यो। त्यो अकल्पनीय पीडाले उनी एक्लो, रित्तो र परिवारविहीन बने।आफ्नो बूढी आमा राधा थापाको काखमा टाउको राखेर डाँको छाडेर रुने उनका दिनरातले मित्रसेनको जीवनलाई गहन आध्यात्मिक र वैराग्यमय बनाएको थियो। आमाछोरामात्रको संसारले पनि घरको उज्यालो पुनर्स्थापित गर्न सकेन। अन्ततः आफन्तको आग्रहअनुसार ३० वर्षको उमेरमा उनले दोस्रो विवाह गरे र २० वर्षीया लाजवन्ती उनको जीवनसंगिनी बनिन्। साहित्य, नाटक र संगीतलाई संस्थागत रूपले अगाडि बढाउन मित्रसेन समान रूपले सक्रिय थिए। उनको नेतृत्वमा हिमालयन थियट्रिकल कम्पनी स्थापना भई उनले लेखेका र निर्देशन गरेका नाटकहरू व्यापक रूपमा मंचन भए। सोही संस्थामार्फत उनले अनगिन्ती गीत गाई नेपाली संगीतको आधारभूत संरचनामा महत्वपूर्ण ईँटा थपे। यही कारणले समयक्रममै उनी “मास्टर” उपाधिबाट सम्मानित बने।पछिल्ला वर्षहरूमा भारतका विभिन्न नेपाली बस्तीहरूमा पुगेर उनले संगीत संस्कृतिको विस्तारमा उल्लेख्य योगदान गरे। सन् १९४४ सेप्टेम्बरमा बराल मण्डलीसहित पाल्पा आउने अन्तिम यात्रा उनका जीवनका अन्तिम सार्वजनिक क्रियाकलापहरू मध्येको एक मानिन्छ। रिडीको कालीगण्डकीमा परिवारसहित स्नान गरेपछि भारत फर्कने योजना भए तापनि आकस्मिक स्वास्थ्य अवरोधका कारण फर्किन सकेनन्। स्वास्थ्य झनै बिग्रिँदै गएपछि सन् १९४६ मार्चमा मात्र उनी धर्मशाला पुनः फिर्ता भए।विक्रम संवत् २००२ सालमा नेपाली गीत संगीतका एक चम्किला तारा संवाहक मास्टर मित्रसेन थापा मगरको जीवनयात्रा अवसान भयो।उनको अमर सृजना र सांस्कृतिक कृतित्वले भने आज पनि उही उज्यालो पार्दै नेपाली संगीत इतिहासमा विशिष्ट स्थान ओगटिरहेको छ। मास्टर मित्र सेनको व्यक्तित्व र कृतित्वको बारेमा भारतीय र नेपाली दुनवै देशका विद्वानरहूले विद्यावरिधी पनि गरिसकेको अवस्था छ।
मेलवा देवीः
नेपालको आधुनिक गीत परम्परामा कालजयी धुन स्वरूप स्थापित “सवारी मेरो रेलैमा, सानु र सानु लैलै” बोलको गीत, जसको स्वर, शब्द र सङ्गीत तीनै रूपमै मेलवादेवी गुरुङको अप्रतिम सृजनासँग नजिकिएको छ । नेपाली नारी स्वरको इतिहासमा पहिलो र प्रमुख दस्तावेज मानिन्छ। सूबी शाहका अनुसार, सन् १९८५ तिर भारतको कलकत्तास्थित His Master’s Voice (HMV) कम्पनीमा यस गीतको रेकर्डिङ हुनु, नेपाली नारी आवाजको प्रथम ऐतिहासिक ध्वनिचिन्हका रूपमा स्थापित छ। सप्तदेवी गुरुङ र ज्ञानबहादुर लामिछाने गुरुङकी जेठी छोरी मेलवादेवीको जन्म विक्रम संवत् १९५६ मा रुम्जाटारको काफलबोट गाउँ (ओखलढुङ्गा) मा भएको मानिन्छ।तर यसको कन्ट्रोभर्सी पनि छ कि उनको कुल घर रूम्जाटार र जन्म स्थान पिताको जागिरको सिलसिलामा गोर्खामा माता पिता बस्दा भएको हो भन्ने पनि कन्ट्रोभर्सी छ। बाल्यकालदेखि नै उनी असाधारण साङ्गीतिक क्षमता लिएर उदाएकी थिइन् पाँच वर्षमै गाउँभरि चर्चित हुने गरी गीत गाउने उनको प्रतिभाले गाउँले मात्र होइन, पछि राणा शासनको दरबारसम्म चकित तुल्यायो। सन् १९६५ आसपास उनकी आमा र दिदीले उनलाई काठमाडौँ ल्याएपछि मेलवादेवी श्री ३ चन्द्रशमशेरको दरबारमा गायिकाका रूपमा नियुक्त भइन्। दरबारको रंगमञ्च, सभासमारोह, सिकार यात्रा जहाँ जहाँ महाराज उपस्थित हुन्थे, त्यहीँ मेलवादेवीको स्वर सुनिने गर्थ्यो। रानी बालकुमारीदेवी समेत प्रारम्भिक चरणमा उनलाई प्रशंसापूर्वक बक्सिस दिइरहन्थिन्।चन्द्रशमशेरले उनीलाई परिष्कृत शास्त्रीय गायनमा प्रशिक्षित गर्न उस्ताद बालाप्रसाद शर्मा, गणपत, खेमचन्द्र लगायत विख्यात गुरुहरू व्यवस्था गरिदिए। यसपछि मेलवादेवी दरबारकी “कोकिला स्वरकी नायिका” का रूपमा प्रतिष्ठित भइन्। उनको स्वरबारे छोरी विमला दीक्षितले सुनाएको संस्मरण नेपाली सङ्गीत इतिहासकै अद्भुत घटना हो।एक दिन टन्टलापुर घाम लागेको बेला हिज हाइनेस केशरशमशेरले चुनौती दिए “अहिले गीत गाएर पानी पार्न सक्छ्यौ?” मेलवादेवीको उत्तर थियो “पानी कति पर्छ भन्दिनँ, तर बादल अवश्य लाग्छ।” लगातार डेढ घण्टा गायनपछि आकाश मडारिँदै पानी पर्यो, र केशरशमशेरले वाचा गरे अनुसार पाँच हजार रुपैयाँ बक्सिस दिए।यो घटना उनको स्वरको सूक्ष्म प्रभाव र आध्यात्मिक प्रकृतिसम्म पहिचान गर्ने लोकविश्वासको उदाहरण मानिन्छ। मेलवादेवीको लोकप्रियतासँगै दरबारमाथि ईर्ष्याको छाया पनि पर्यो।चन्द्रशमशेरकी रानी बालकुमारीदेवीको इसारामा षड्यन्त्र रचियो पानमा सिन्दूर मिसाएर उनलाई खुवाइयो, जसले उनको स्वर अचानक बिग्रियो।महाराजले बेलायतबाट डाक्टरसमेत बोलाए तर स्वर पूर्ववत् हुन सकेन।तर पनि चन्द्रशमशेरले सान्त्वना दिदैँ भन्थे। “गा न गा, तेरो यही सुकेको आवाज पनि मलाई प्रिय छ।” दरबारको राजनीति, ईर्ष्या, र सामाजिक चाप बढ्दै जाँदा मेलवादेवीलाई सिंहदरबारबाट विदा गरियो।
चन्द्रशमशेरले उनलाई विजयेश्वरीमा घर किनेर दिए, जुन उनको नयाँ जीवनको प्रारम्भ थियो।यही समयदेखि तबलावादक भक्तकृष्ण मानन्धरसँग उनको दाम्पत्य जीवन सुरु भयो।भक्तकृष्ण पहिलेदेखि नै दुई विहे गरिसकेका थिए।मेलवादेवीसँग विवाहपछि उनी सिंहदरबार प्रवेशबाट समेत बहिष्कृत भए।मेलवादेवीका दुई छोरी विमला र शान्ति यसै विवाहबाट जन्मिए।तर केही वर्षमै वैवाहिक सम्बन्ध विच्छेद भयो।घरबार बेचेर, नवजात शिशुहरू च्यापेर, उनी कोलकाता प्रस्थान गरिन् यही यात्राकै अनुभवले “सवारी मेरो रेलैमा” जन्मियो। सन् १९२८ मा सार्वजनिक भएको उहाँको गीत “सवारी मेरो रेलैमा” नेपाली संगीत इतिहासमा महिला स्वरमा रेकर्ड गरिएको पहिलो गीत मानिन्छ। कलकत्ता पुगेपछि मेलवादेवीको सिर्जनायात्रा पहिलाभन्दा अझ मुक्त, साहसिक र अंतर्राष्ट्रिय रंगमय भयो।उनले इलाहाबाद, रामगढ लगायतका भारतीय प्रमुख सङ्गीत सम्मेलनहरूमा भाग लिए र सुनका तमगा हात पारिन्।इलाहाबाद सङ्गीत सम्मेलनले उनलाई “ठुमरीकी रानी” पदवी प्रदान गरेको तथ्य ऐतिहासिक रूपमा विशेष महत्त्वको छ। जन्मजात स्वाभिमान बोकेको कलाकार जीवनको उत्तरार्द्धमा आर्थिक रूपमा सङ्कटग्रस्त हुँदै गयो।उनी कोलकत्तास्थित मारवाडी बालिका विद्यालयमा सङ्गीतकी गुरु भइन्, छोरीहरू त्यहीँ पढाइन्, र निजी कोठामै तालिम कक्ष खोलेर जीविका चलाइन्।नेपाली, हिन्दी, बङ्गाली उनी तीनै भाषामा गीत गाएर आफ्नो कला सम्प्रेषण गरिरहन्थिन्।
छोरीहरूको विवाह गराएर, उनी फेरि एकान्तमा फर्किइन् एक कोठे डेराको जीवन, मानसिक तनाव, र जीवनप्रति गहिरो मौनता। २०१२ साल मङ्सिरमा खाना पकाउँदै गर्दा स्टोभ पड्किएर आगलागी भयो।भोलिपल्ट उनलाई छिमेकीले कोठाभित्रै विभत्स अवस्थामा भेटे। कोलकाता मेडिकल कलेजमा पोस्टमार्टमपछि उनको लाश धर्मपुत्र रामचन्द्र गुप्ताले बुझे।उनका छोरीहरू विमला दीक्षित र शान्तिरानी आर्य यो दुःखद समाचार पछि मात्र जान सके।यसरी नेपाली सङ्गीतको प्रथम नारी स्वर संस्थापक एकान्तमा परदेशमै मेलवा देवीको जीवन लीला समाप्त भयो तर पनि उनी जीवित छन्।
उस्ताद साईलाः
नेपाली राणा युगको कलासंस्कृति, विशेषतः शास्त्रीय सङ्गीतको परम्परामा उस्ताद साइला एक विशिष्ट व्यक्तित्वका रूपमा स्मरण गरिन्छन्। किनकि उनी दरबारको रङ्गमञ्च, शास्त्रीय गायन, ठुमरी दादरा, रागदारी, ध्रुपद ख्याल जस्ता विधाहरूमा प्रवीणता प्रदर्शन गर्न सक्ने विरलै कलाकारहरू मध्ये एक थिए। समकालीन महाराजहरूको संगति, दरबारको रात्रि दरबार, समारोह, सांगीतिक महेन्द्र सभा आदिमा राजकीय गायकका रूपमा उनको उपस्थिति अनिवार्य मानिन्थ्थ्यो। उस्ताद सैलाको गायन शैलीमा भारतको अवध, बनारस, पटियाला र ग्वालियर घरानाको प्रभाव पाइन्छ, यसले उनलाई नेपालमा शास्त्रीय संगीतको भारतीय नाभीसँग जोड्ने जीवित सेतु बनायो। उस्ताद सायलाको जन्म, प्रारम्भिक प्रशिक्षण र गुरु परम्पराबारे विस्तृत ऐतिहासिक कागजात सीमित भए पनि, मौखिक परम्परा र दरबारकर्मीका संस्मरणले उनलाई भारतमा प्रशिक्षित, बलियो शास्त्रीय पृष्ठभूमिबाट आएका कलाकारका रूपमा चित्रित गर्छ।उनी बाल्यकालदेखि नै स्वर साधना, रियाज, रागदारी, ताल ज्ञानमा पारंगत भएका थिए, जसले गर्दा राणा दरबारले उनलाई विशेष आमन्त्रण गरेर नेपाल बोलाएको प्रचलित धारणा पनि छ। नेपाल प्रवेशपछि उस्ताद साइला श्री ३ चन्द्रशमशेर, पछि भीमशमशेर जंगलि दरबार, तथा बबरशमशेरसम्मका दरबारमा आवधिक रूपमा गाउने प्रमुख गायक उस्ताद बने। उनी राणा दरबारका स्वरलोकभित्र मेलवादेवी गुरुङ, उस्ताद खेमचन्द्र, उस्ताद गणपतलगायत कलाकारहरूसँग प्रतिष्ठित स्थानमा उभिन्थे।उस्ताद साइलाले मेलवादेवीलाई शास्त्रीय पारम्परिक अनुशासनमा अग्रसर गराउने कलाकारहरूमध्ये एक मानिन्छ।उनको स्वरको प्राकृतिक मिठासलाई उस्तादहरूले तालिमद्वारा परिष्कृत गरेकामा साइलाको भूमिका विशेष महत्वका साथ उल्लेख गरिन्छ।दुवै कलाकारको सम्बन्ध संगीतिक गुरुभाउ, परस्पर सम्मान, र दरबारको कलात्मक अनुशासनमा टेकेको थियो।
अतः गीतसङ्गीत कुनै पनि राष्ट्रको सांस्कृतिक पहिचान, भावनात्मक समृद्धि र अन्तर्राष्ट्रिय छविको अदृश्य दूतको रूपमा कार्य गर्ने शक्तिशाली माध्यम हो। गायक गायिकाहरूले आफ्ना शब्द, स्वर र कलात्मक प्रस्तुतिमार्फत राष्ट्रिय आत्मालाई विश्वसामु उजागर गर्दै देशको सांस्कृतिक कूटनीति सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् । उनीहरूले प्रस्तुत गर्ने संगीतले राष्ट्रबीच परस्पर सद्भाव, शान्ति, मित्रता र आपसी सम्मानको वातावरण निर्माण गर्न मद्दत गरेको हुन्छ।गायक गायिकाहरूको विशिष्ट मौलिकता, भाषिक विविधता र सांस्कृतिक भावनालाई प्रस्तुत गर्ने सिर्जनात्मक कृतिहरूले अन्तर्राष्ट्रिय समुदायमा राष्ट्रप्रतिको सकारात्मक धारणा विस्तार गर्नुका साथै पर्यटकीय, सामाजिक र सांस्कृतिक पहिचानलाई बलियो बनाइदिन सक्छन्।यसरी, गीत सङ्गीतको विश्वव्यापी भाषा र कलाकारहरूको संवेदनशील भावनात्मक अभिव्यक्तिले कुनै पनि राष्ट्रलाई दृढ, सम्मानित र सांस्कृतिक रूपमा समुन्नत छविसहित विश्वमञ्चमा स्थापित गराउन उल्लेखनीय योगदान पुर्याउन सक्छ ।काठमाडौं महानगरपालिका वडा नं. २७ ले आयोजन गरेको स्मृतित उत्सब कार्यक्रमले अरूलाई पनि मार्गदर्शन प्रदान गर्दछ।फोटोग्राफर -अनुप कुमार खड्गी

