१ असोज, काठमाडौं । गत २३ र २४ भदौमा जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा विभिन्न भौतिक संरचनाहरूको क्षति, तोडफोड र आगजनी भयो ।
गत बुधबार (२४ भदौ) चुप्चेपाटीमा रहेको भाटभटेनी आगजानी भयो । केही दिनपछि सरसफाइ गर्ने क्रममा ७ जनाको शव फेला परेको थियो । ती शव पहिचानका लागि अहिले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा छन् ।
फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार जेनजी प्रर्दशनका क्रममा मृत्यु भएका ४६ वटा शव पोस्टमार्टमका लागि आइपुगेका थिए । जसमध्ये ३९ जनाको पोस्टमार्टम गरिसकेर आफन्तले बुझिसकेका छन् । तर ७ वटा शव भने पूर्ण जलेका अवस्थामा छन् । उक्त शवको पोस्टमार्टम भएको छैन ।
बिहीबार कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एउटा शव भेटिएसँगै जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।
‘पहिचान हुन नसक्ने गरी पूर्ण रूपमा जलेका ७ वटा शव आएको छ । तिनको कंकाल मात्र बाँकी छ,’ डा. चौधरीले अनलाइनखबरसँग भने ।

डीएनए परीक्षणबाट मात्र पहिचान सम्भव
डा. चौधरीका अनुसार ती शव अत्याधिक जलेको अवस्थामा छन् । शरीरको मांशपेशी पूर्ण रूपमा जलेर हड्डी मात्र बाँकी छ ।
शव जलेको अवस्थामा परम्परागत पहिचान विधि काम नगर्ने भएकाले डीएनए परीक्षणबाट मात्र पहिचान गर्न सकिने उनले बताए ।
तर यो प्रक्रिया समय र स्रोतको हिसाबले जटिल हुन्छ ।
डा. चौधरीका अनुसार डीएनए विश्लेषण तीन मुख्य चरणमा गर्ने गरिन्छ । पहिलो चरणमा डीएनए निकाल्ने काम गरिन्छ ।
उनले स्पष्ट पार्दै भने, ‘डीएनए सेतो रक्तकोशिकाबाट निकालिन्छ, किनभने रातो रक्तकोशिकामा न्युक्लियस हुँदैन ।’
त्यसैगरी जलेका शवबाट हड्डी वा दाँतबाट डीएनए निकाल्न सकिन्छ । तर नष्ट भएको हुन हुँदैन ।
दोस्रो चरणमा पोलिमरेज चेन रियाक्सन (पीसीआर–एम) प्रक्रिया अपनाइन्छ ।

उनका अनुसार डीएनएको मात्रा कम भएमा पीसीआर–एम प्रक्रियाबाट डीएनएको मात्रा बढाइन्छ । यसले डीएनएको सिक्वेन्स एडिनिन, ग्वानिन, थाइमिन, साइटोसिन विश्लेषण गर्न सहज बनाउने उनको भनाइ छ ।
तेस्रो चरणमा प्रोफाइल म्याचिङ गरिन्छ ।
मृतकको डीएनए प्रोफाइललाई उनका बुबा वा आमाको डीएनएसँग तुलना गरिन्छ । बुबा वा आमाको डीएनए ५०–५० प्रतिशत मेल खाने भएकाले पहिचान गर्न सहज हुने उनले बताए ।

